कोरोनाको उपचारमा खटिएका डा भोजराजले भने– अक्सिजनको माग ६ गुणा बढ्यो, अझै तीन हव्ता भयावह हुने देखिन्छ

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १५ : ११
कोरोनाको उपचारमा खटिएका डा भोजराजले भने– अक्सिजनको माग ६ गुणा बढ्यो, अझै तीन हव्ता भयावह हुने देखिन्छ

चितवन । चितवनको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी यतिबेला कोरोनाका बिरामीको उपचारमा दिनरात खटिएका छन् । कोरोनाको पहिलो लहरमा संक्रमितसमेत भएका डा अधिकारी अहिलेको दोस्रो लहरको जटिल अवस्थालाई नजिकबाट हेर्नेमात्र होइन, प्रत्येक बिरामीको बेडसम्म पुगेर उपचारमा निरन्तर खटिइरहेका छन् । चितवनको भरतपुर अस्पतालमा यतिबेला २२ जिल्लाका कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको चाप छ । भरतपुर अस्पतालका कोभिडका लागि छुट्टाइएको सबै बेड भरिभराउ छन् । कुनै आइसियूमा छन्, कुनै एचडियूमा छन् त कुनै बिरामी भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

उनी भन्छन्, ‘अहिले भरतपुर अस्पतालका सत्प्रतिशत बेडहरु भरिएका छन्, अझै कोरोनाले ३ हप्ता जटिल बनाउने अवस्था देखिन्छ ।’ उनले बाँके, दाङ, सल्यान, प्युठान, रुपन्देही, मकवानपुर र पर्सा लगायत २२ जिल्लाबाट आइसियु खाली छ भनेर तारन्तार फोन आइरहेको बताए । उनले भने, ‘अब त बेड खाली हुनका लागि कि बिरामी तत्काल ठीक हुनु पर्यो कि त मृत्युवरण गर्नुपर्यो ।’

डा अधिकारीका अनुसार टाढाबाट बिरामी ल्याउनेहरुलाई कसरी बेड खाली छ भन्नु ? नजिकबाट बिरामी ल्याएका एम्बुलेन्सहरु तीन घन्टादेखि बेड ढुकेर अस्पतालको गेटमा बसिरहेकालाई के भन्ने ? टाढाबाट अन्धाधुन्ध बिरामी ल्याउन भनियो भने  बाटोमै केही होला भन्ने डर, अस्पताल आइपुगे पनि बेड ढुकाएर टाढाका बिरामीलाई कसरी अस्पतालमा राख्ने ? अवस्था जटिल छ । 

डा अधिकारीले भरतपुर अस्पतालमा अक्सिजनको माग ६ गुणाभन्दा बढी भएको बताए । उनले भने, ‘अक्सिजनको माग बढेको बढ्यै छ, तर पाउने स्रोत उही नै छ । उनले कोरोनाका बिरामीको उपचारका क्रममा अनेकौँ अनुभव सँगालेका छन् ।  उनले भने, ‘पीडा दर्दनाक छ, एउटै परिवारको सदस्य एक जना भेन्टिलेटरमा छ, एक जना आइसियूमा छ, अर्का एकजना जनरल वार्डमा छ । घरको एउटा सदस्यको कोरोनाले मृत्यु हुन्छ, अर्को त्यही रोगले भर्ना भएका घरको अर्को सदस्यलाई कसरी भन्नू, अवस्था जटिल बन्दै गइरहेको छ ।’ उनको भनाइअनुसार कतिपय बिरामीहरु त डाक्टरलाई बाटो नै छेकेर परामर्श लिइरहेका छन् । कतिले आफू कोरोना पोजेटिभ हुँ भनेर भन्दैनन् । 

समाधानको उपाय के त अब ?

डा अधिकारी हरेक पालिकाका स्वास्थ्यका स्थायी संरचनामा अक्सिजनसहितको प्राविधिक सेवा राख्नुपर्ने बताउँछन् । उनले पालिकाभित्रका कुनै पनि बिरामीले पिसिआर पोजेटिभ आएको खण्डमा सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीलाई नाम ठेगाना टिपाउने र आवश्यक परेमा ठूला अस्पताल, पालिकास्तरको अक्सिजनसहितका अस्पताल वा होम आइसोलेसन कहाँ राख्ने हो, त्यसको निक्यौल सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीले गर्ने सुझाव दिए । डा अधिकारी भन्छन्, ‘पालिकाको स्वास्थ्यचौकीमा कोही बिरामी गम्भीर भए ठूला कोरोनाका उपचार भइरहेका अस्पतालमा रिफर गर्ने प्रणाली बसौलौँ ।’ 

उनले कुन अस्पतालमा कति बेड खाली छ त्यो हेर्ने एउटा संरचना बनाउन सुझाव दिए । सुरक्षाकर्मीको कलसेन्टरजस्तो मेकानिजम बनाएर बेड खाली भए नभएको जानकारी दिने प्रणाली विकास गर्न सकिने उनको भनाइ छ । यसो गर्नाले अस्पताल आइपुग्ने समय र अस्पताल आएर अलमल हुने अवस्था नहुने उनी बताउँछन् ।  अस्पतालको क्षमता, भेन्टिलेटर, अक्सिजन क्षमतालगायतको आवश्यकता सहितको स्वेतपत्र जारी गरी त्यसको ब्यबस्थापनको समन्बय जिल्ला प्रशासनले गर्ने व्यवस्था मिलाउन पनि उनले सुझाव दिए ।

राम्रो हँुदै आएका बिरामी जसलाई अक्सिजन चाहिँदैन त्यस्ता बिरामीलाई बागेश्वरीलगायतका प्राकृतिक चिकित्सालयमा राखेर मनोबल बढाउन सकिने डा अधिकारी बताउँछन् । उनका अनुसार राम्रो हुँदै आएका बिरामलाई बागेश्वरीजस्तो प्राकृतिक चिकित्सालयमा राखेर मनोबल बढाउन सकिन्छ । जसका कारण अस्पतालको बेड चाँडै खाली हुन्छ, र नयाँ बिरामीले बेड पाउँछन् । 

यस्तो माहामारीमा ज्यान जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई हतोत्साही र मानमर्दन हुने काम कतैबाट हुन नहुने उनी बताउँछन् । जोखिम भत्तालगायत बिमासहितको राहतको व्यवस्था स्वास्थ्यकर्मीलाई गर्न पनि उनले सुझाव दिए । 

 

प्रतिक्रिया दिनुहोस