आइसोलेशन केन्द्र संचालनमा ल्याउने सेनाको तयारी

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १४ : २४
आइसोलेशन केन्द्र संचालनमा ल्याउने सेनाको तयारी

काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको वसुन्धरामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् । निरीक्षणकै क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन आग्रह गरे ।उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ । 

तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ ।आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइसोलेशन केन्द्र संचालनमा आएपछिकोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइएको सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए ।  निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए । 

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा.सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराएका थिए । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।   

प्रतिक्रिया दिनुहोस