भाषा, संस्कृति र धर्मलाई सद्भावका साथ जोगाई राख्न प्रधान सेवा समाज अग्रसर

सोमबार, १९ चैत्र २०७४, १७ : ०७
भाषा, संस्कृति र धर्मलाई सद्भावका साथ जोगाई राख्न प्रधान सेवा समाज अग्रसर

चितवन । प्रधान सेवा समाज चितवनको २०७४–७६ का लागि नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यहरुलाई चुस्त दुरुस्त बनाउने र योजनावद्ध ढंगबाट अगाडि बढाउने उद्देश्यले अध्यक्ष प्रचण्डलाल प्रधानको अध्यक्षतामा कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
अध्यक्ष प्रधानले बीसौं शताब्दीको प्रारम्भिक कालदेखि भक्तपुर जिल्ला, तौलाक्ष टोलबाट बन्दीपुरमा बसाईं सराई गरी बसोबास गर्दै आउनु भएका प्रधान खलकका मूल पुरुष स्वर्गीय कृपाराम प्रधानका सन्ततिहरु जो हाल बन्दीपुर, नारायणगढ, डुम्रे, दमौली, पोखरा, बुटवल, बेशीशहर, काठमाण्डौं आदि स्थानहरुका साथै देश÷विदेशमा समेत छरिएर रहेका दाजुभाईहरुलाई एकसूत्रमा बांधी परम्परादेखि चल्दै आएको आफ्नो भाषा, संस्कृति र धर्मलाई सद्भावका साथ जोगाई राख्न प्रधान सेवा समाज चितवन गठन गरिएको बताउनु भयो ।
समितिले विधानको परिधिभित्र रही उद्देश्यहरु बमोजिम विभिन्न विषयगत क्षेत्रहरु क्रमशः सामाजिक कार्यहरु, सचिवालय सुदृढिकरण र मन्दिर व्यवस्थापन, भाषा, कला, संस्कृति जर्गेनामा विभिन्न कृयाकलापहरु एवम् कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ । तय गरिएका कार्यक्रमहरुमध्ये मुख्य कार्यक्रमहरु जस्तै पुर्खाहरुले स्थापना गरेका मठ मन्दिर, पाटी पौवाहरुको संरक्षण एवम् सम्बद्र्धन गर्ने, रक्तदान कार्यक्रम गर्ने, प्रमुख चाडपर्वहरुको व्यवस्थापन गर्ने, स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, बुलेटीन प्रकाशन गर्ने, छात्रवृत्ति तथा सम्मान कार्यक्रमको आयोजना गर्ने रहेका छन् ।
उक्त कार्यक्रमहरुलाई निरन्तर गरिने, दीर्घकालीन र तत्काल गरिने कार्यक्रमहरु गरी तीन भागमा विभाजन गरिएको छ । विशेषगरी बन्दीपुर र नारायणगढलाई केन्द्रित गरी कार्यक्रमहरु सञ्चालन गरिने समाजका उपाध्यक्ष मनोज प्रधानले बताउनु भयो । कार्ययोजना तर्जुमा गोष्ठीबाट राम्रा कार्यक्रम बनेको र यसले मार्गनिर्देशन समेत गर्ने सचिव रसिक प्रधानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस