शुल्कमा एकरुपता कायम गर्न आग्रह

सोमबार, १९ चैत्र २०७४, १६ : २७
शुल्कमा एकरुपता कायम गर्न आग्रह

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले व्याप्त शैक्षिक विकृतिको विरोध जनाएको छ ।
अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष रमेश लामिछानेले आइतबार एक विज्ञप्ति जारी गरी देशमा व्याप्त शैक्षिक विकृतिलाई सच्याउन माग गरेको छ । विज्ञप्तिमा शैक्षिक विकृति अर्थात् भ्रष्टाचार, माफियाकरण, व्यापारीकरणका विरुद्धमा सधैं भण्डाफोर गर्दै सडक बाघको रुपमा आफ्नो संगठन स्थापित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ “पछिल्लो समयमा चितवनमा प्याब्सन, इक्यान तथा विभिन्न शैक्षिक  इन्ष्टिच्यूटहरुले नयाँ शैक्षिक सत्रको मौका छोपी शिक्षा क्षेत्रको सामान्य मूल्य र मान्यता समेत बिर्सी यो वा त्यो बहानामा विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेकोप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ ।” त्यसैगरी विज्ञप्तिमा ब्रिज कोर्षको नाममा आफुखुशी शुल्क निर्धारण गरेकोप्रति विरोध गर्दै शैक्षिक क्षेत्रलाई विशुद्ध कमाउने थलोको रुपमा लिइएको जनाइएको छ ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष लामिछानेका अनुसार शैक्षिक विकृतिको अन्त्य गर्दै शुल्कमा एकरुपमा कायम गर्न माग गरिएको बताए ।
त्यसो त चितवनमा च्याऊ उम्रे सरी ट्यूसन सेन्टर, तयारी कक्षाहरु सञ्चालनमा रहेको भएपनि उनीहरुले विभिन्न बहानामा महंगो शुल्क लिने गरेको विद्यार्थीहरुको गुनासो समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस