संक्रमणलाई रोक्ने उपायहरु गर्न सरकारसँग देउवाको माग

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १८ : ३७
संक्रमणलाई रोक्ने उपायहरु गर्न सरकारसँग देउवाको माग

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न सरकारसँग माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनतर्फ सरकारलाई गम्भीर हुन माग गरे । 

देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा बढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आईसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि वढ्यो   छ । अहिले युवाहरूमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको छ । संक्रमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ, विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनले आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको  देउवाको भनाइ छ ।

मित्रराष्ट्र भारतवाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठूलो  राहत महशुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ । यस सहयोगका लागि दुवै मित्रराष्ट्रहरूलाई धन्यवाद दिन चाहन्छु । देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझ ठुलो संख्यामा खोपको आवश्यकता छ, देउवाले भने ।चाडो भन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कुटनैतिक सकृयता बढाउन पनि देउवाले सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस