चितवनमा ७८ जना कोरोना संक्रमित थपिए ,उच्च सतर्कता अपनाउन भरतपुर महानगर प्रमुख दाहालको आग्रह

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १७ : ५७
चितवनमा ७८ जना कोरोना संक्रमित थपिए ,उच्च सतर्कता अपनाउन भरतपुर महानगर प्रमुख दाहालको आग्रह

चितवन । नेपालमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण भरतपुर महानगरपालिकाभित्र पनि तीब्र रूपमा फैलिँदै गएको हुनाले उच्च सतर्कता अपनाउन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन् । 

प्रमुख दाहालले संक्रमणको जोखिम उच्च रहेको हुनाले यसको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सम्पूर्ण महानगरवासी तथा सरोकारवालाहरुमा अनुरोध गरेकी छन् । उनले विज्ञप्तिमार्फत सार्वजनिक स्थान, सडक,  यातायात तथा कार्यालयहरुमा अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डका उपायहरु अवलम्बन गर्न सबैमा आग्रह गरेकी छन् । 

व्यवसाय सञ्चालन गर्दा २ मिटरको भौतिक दूरीको कायम राख्न र पसल अगाडि तथा अन्य सार्वजनिक स्थलहरूका ठाउँ ठाउँमा हात धुने, सेनिटाइजर र मास्कको प्रयोग गर्न महानगरले सबैलाई आग्रह गरेको छ । अति आवश्यक काममा मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । 

भीडभाडजन्य गतिविधि तथा कार्यक्रमहरुको आयोजना नगर्न , नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न विज्ञप्तिमा भनिएको छ । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गर्न, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला तथा असहायहरुको सबैले विशेष ख्याल गर्न, कोभिड–१९ को दोस्रो लहरबाट आफू र समुदायलार्इ जोगाउन आ–आफ्नो ठाउँबाट सहयोग पु-याउन माग गरिएको छ ।


 

प्रतिक्रिया दिनुहोस