कोभिड–१९ले प्रभावित माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माण पुनः सुरु

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १४ : १०
कोभिड–१९ले प्रभावित माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माण पुनः सुरु

काठमाडौं । कोभिड–१९को महामारीको चपेटामा परेको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको काम पुनः सुरु भएको छ । नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको  निर्माण करिब १४ महिना ठप्पप्रायः थियो । 

ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका  प्रबन्ध–संचालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरु खटिएका छन् । 

‘नयाँ वर्ष मनाउन २०७६को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरु कोभिड–१९का कारण फर्कन नसक्दा करिब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि सुरु भएको छ’, उनले भने । ‘चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन, यसबाट धेरै प्रयास गरी पुनः निर्माण सुरु गरिएको आयोजनाको काम प्रभावित हुने देखिएको छ ।’ चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गरे । 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना  फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । कोभिड–१९का कारण लगातार १४ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

इन्जिनियरिङ, खरिद तथा निर्माण ( इपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्ने छ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन लगायतको २०/२० कित्ता सेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलगायतले पनि खरिद गरेका थिए ।  आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत गृहको पहिलो चरणको खन्ने र सर्पोटको काम क्रमश : ७६ र ३५ प्रतिशत सकिएको छ । 

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ । 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । 

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । 

आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ । 
 

प्रतिक्रिया दिनुहोस