होटल व्यवसायलाई आगामी बजेटमार्फत सम्बोधन गरिदिन माग

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १३ : ४८
होटल व्यवसायलाई आगामी बजेटमार्फत सम्बोधन गरिदिन माग

काठमाडौं । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । 

अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे । सोमबार पत्रकारसंगको कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए । अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेट मार्फत विशेष सम्बोधन गरिनुपर्ने बताए ।

फेरीपनि लकडाउन भएमा व्यवसायीहरु आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताए । त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने बताए । उनले बजेट मार्फत रोजगार संरक्षण कोष घोषणा गर्नपनि माग गरे ।

सरकारले जारी गरेको मापदण्ड अनुसार विहान ८ बजेदेखि साँझ ८ बजे सम्म होटल सञ्चालन गर्न पाइने र २५ जना भन्दा बढी भेला हुन नपाउने भएपछि होटल क्षेत्र थप प्रभावित भएको छ । होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्ड अनुसार काम गरिरहेको तर सरकार आफैले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योलता बढेको पनि बताए ।

अब आउने बजेट यस अघिको भन्दा पृथक हुनुपर्ने पनि उनले बताए । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरउत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि गरे ।  
 

प्रतिक्रिया दिनुहोस