गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदै

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १६ : ०४
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदै

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदैछ । उक्त अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो । पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएपछि बैठक केही दिन लम्बिने भएको छ ।

‘पहिलो दिन सबै दलका नेताहरुले आफ्नो कुरा राखिसकेपछि मुख्यमन्त्रीज्यूले जवाफ दिनुहुनेछ,’ जनमोर्चाका सांसद कृष्ण थापाले भने, ‘त्यसको भोलिपल्ट ९१४ गते पनि छलफल नै हुने र तेस्रो दिनमात्रै मतदान हुने कार्यसूची तय भएको छ ।’

थापाका अनुसार अविश्वासको प्रस्तावउपर भने वैशाख १५ गते मतदान हुने भएको छ । मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव दर्ताको अघिल्लो रात वैशाख १ गते संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । उनको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमा संसद अन्त्य गरेका थिए ।

चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गरेका थिए । सोही मागबमोजिम प्रदेश प्रमुखले वैशाख १३ गते दिनको २ बजेबाट सुरु हुने गरी विशेष अधिवेशन डाकेका हुन् ।

प्रतिक्रिया दिनुहोस