प्रधानमन्त्री ओलीले गरे नवनिर्मित धरहराको उद्घाटन

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, ११ : ५४
प्रधानमन्त्री ओलीले गरे नवनिर्मित धरहराको उद्घाटन

काठमाडौं । पुनर्निर्मित धरहराको उद्घाटन भएको छ । वि.सं. २०७२ सालको महाभूकम्पमा परेर ध्वस्त भएपछि पुनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।  बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो । पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । मौलिकताको सम्बर्द्धन गर्दै आधुनिक रुप समेत यसमा दिइएको प्राधिकरणले जनाएको छ । धरहरामा विद्युतीय लिफ्ट र भर्‍याङको समेत व्यवस्था गरिएको छ । २२ औं तलामा महादेवको मुर्ति राखिएको छ । 

२०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान घोषणा गरेका थिए । २०७५ पुस १२ गते  प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका थिए । करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भएको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ। त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीनतले पर्किङ्ग, उपहार पसलहरु, थिएटरसहितका पूर्वाधार हुने छन्। नयाँ धरहरामा दुईवटा लिफ्टको समेत व्यवस्था हुनेछ।

विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० को भूकम्पले ढलेको थियो। त्यसपछि विसं १९९२ मा ९ तला रहने गरि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गरेका थिए।

पुनर्निर्मित धरहरामा जडानका लागि चुना र सुर्कीको सट्टा सिमेन्ट तथा फलामे डन्डी प्रयोग गरिएको छ । धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस