शुक्रबार प्रदेश २ मा थपिए १ सय २९ जना नयां कोरोना संक्रमित

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, ११ : २४
शुक्रबार प्रदेश २ मा थपिए १ सय २९ जना नयां कोरोना संक्रमित

पर्सा । शुक्रबार सबैभन्दा बढी पर्सामा ५८ जना सहित प्रदेश २ मा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार धनुषामा २३, महोत्तरीमा ७, सिरहामा ३, सप्तरीमा ५, सर्लाहीमा ३, रौतहटमा १२ र बारामा १५ जना संक्रमित छन् ।

दिनदिनै संक्रमितको संख्या उच्च दरमा थपिए पनि प्रदेशका अस्पतालमा थोरैमात्र भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका अनुसार प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ८ सय ७५ छ । संक्रमण दर उच्च रहेको पर्सामै ठूलो संख्यामा संक्रमित होम आइसोलेसनमै बसेका छन् । जिल्ला प्रशासन कार्यालयका कोभिड सूचना अधिकारी विनयकुमार श्रीवास्तवका अनुसार शुक्रबारसम्म होम आइसोलेसनमा बस्ने संक्रमित ५ सय २० जना छन् ।

उनीेहरू सुरक्षित र सतर्कता साथ आइसोलेसनमा नबसे परिवारका सदस्य र छरछिमेकमा पनि संक्रमण सर्ने जोखिम छ । कोरोनाको दोस्रो लहर चल्दा संक्रमितले पहिलो लहरको तुलनामा सामान्य रूपमा लिनुका साथै आइसोलेसनको नियम कडाइका साथ पालना नगरेको स्थानीयको गुनासो छ । संक्रमितहरू पूर्ण निको नभई बजार, पसल तथा अन्य स्थानमा आवागमन गर्ने गरेको पाइन्छ ।

उनीहरूको अनुगमन र नियमन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कामेश्वर चौरसियाले होमआइसोलेसनमा बस्नेहरूको अनुगमनको जिम्मा स्थानीय तहको बताए । 

प्रतिक्रिया दिनुहोस