काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माण सम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया नरोकिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ताकेता गरेको छ ।
चैत १९ गते लेखा समितिले फास्ट ट्र्याकको दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुलको ठेक्का प्रक्रियामा अनियमितताको शंका गर्दै ठेक्का प्रक्रिया रद्ध गरेर पुनः सुरु गर्न निर्देशन दिएको थियो ।तर, निर्देशन कार्यान्वयन भएको जानकारी नआएको भन्दै समितिले रक्षा मन्त्रालयलाई पत्र लेखेको छ ।
‘निर्देशन कार्यान्वयन भएको जानकारी आएको छैन । तुरुन्तै कार्यान्वयन गर्नुपर्ने विषयमा ढिलाइ भएको र रक्षा मन्त्रालयबाट जवाफ नआएकाले ताकेता गरेका छौं’ समितिका सचिव रोजनाथ पाण्डेले भने ।
मकवानपुरको धोद्रेमा सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी र लेनडाँडामा घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए । तर नेपाली सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र ‘प्रि–क्वालिफाइड’ ठहर गर्यो ।
लेखा समितिले यही विषयमा प्रश्न उठाउँदै ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो । सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष समितिको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १७ : १२
लेखकबाट थप