राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षित नेपाल निर्माणको दस वर्षे महाअभियान सुरू गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १४ : १५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षित नेपाल निर्माणको दस वर्षे महाअभियान सुरू गर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले राष्ट्रिय विपत जोखिम न्युनिकरण प्राधिकरणसँग मिलेर सुरक्षित नेपाल निर्माणको दस वर्षे महाअभियान सुरू गर्ने भएको छ । शुक्रबार प्राधिकरणले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको समय सकिन लागेकोले दीर्घकालीन रूपमा विपद जोखिमको क्षेत्रमा काम गर्न यो योजना अघि सारिएको जानकारी दिए । 

साथै प्राधिकरणले पुनर्निर्माण गर्न बाकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने तयारी समेत गरेको छ । यो वर्षभित्र आधारभूत संरचनाको पुनर्निर्माण सक्ने र बाँकी काम हस्तान्तरण गर्ने बताएका हुन् । प्राधिकरण स्थापनाको ६४ महिनामा ३२ महिनामा नीजि आवास निर्माणमा ९३ प्रतिशत उपलब्धि हासिल भएको जनाइएको छ । 

८ लाख ११ हजार ७ सय ५४ परिवारले अनुदान सम्झौता गरेकोमा ७ लाख ५३ हजार १ सय ४ परिवारले घर बनाएको प्राधिकरणको भनाइ छ । यस्तै २ सय ९९ असुरक्षित बस्तीमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था मिलाइएको छ ।क्षतिग्रस्त २ सय ९९ सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको र २ सय ८८ वटा पुनर्निर्माण भईरहेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । 

पुनर्निर्माणका क्रममा नेपाल सरकार र दातृ निकायबाट समेत गरि २०७७ चैत मसान्तसम्म कूल ३ खर्ब ५७ अर्ब खर्च भएको छ । प्राधिकरणले  कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब अनुमान गरेको थियो । दाता सम्मेलनका क्रममा मित्रराष्ट्रले गरेको प्रतिबद्धतानुसार सहयोग रकम प्राप्त भएको उनको भनाई छ । 

लकडाउनका कारण २०७८ पौषसम्म प्राधिकरणको समय थप भएपनि यो आर्थिक वर्षसम्म काम गर्ने र बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्दै जाने ज्ञवालीले बताए  ।


 

प्रतिक्रिया दिनुहोस