सम्झौता सकियो काम सकिएन

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १३ : १६
सम्झौता सकियो काम सकिएन

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन । 

टीकापुर–१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको छ लेन सडक विद्युत् पोलको कारण देखाउँदै निकै सुस्त गतिमा निर्माण भइरहेको छ । बहुप्रतिक्षित विसं २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको सडक समयावधि सकिँदासमेत आधासमेत निर्माण हुन सकेको छैन । सङ्घीय सरकारको रु २० करोड लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटर छ लेन सडक रमण केएस जेभीले निर्माण गरिरहेको छ । 
 
हालसम्म कम्पनीले सडकमा नाला, कल्भर्ट र वाल निर्माणको काम गरिरहेको छ । समयवधि सकिँदासमेत सडकको बेससमेत नबन्दा स्थानीयवासी आक्रोशित बनेका छन् । सडकको बेससमेत निर्माण नहुँदा सडक धुलाम्मे बन्न पुगेको हो । निर्माण कम्पनीको लापर्वाहीका कारण मुख्य सडक क्षेत्रका बासिन्दाले दिनहुँ धुलो खानुपरेको स्थानीय व्यापारी बताउँछन् । “निर्माण कम्पनीको लापर्वाहीले सडकमा धुलो उडेर हैरान छौँ । अन्य नियमनकारी निकायले पनि व्यवस्था गर्दै आएका छन् ।”

स्थानीय व्यापारी हेमन्त रावलले भन्नुभयो, “कोरोनाको भन्दा पनि बढी हामीलाई यो धुलोको समस्या छ, बाहिर राखेको सामानसमेत बिग्रिन्छ, वैशाखको महिनामा हावा चल्दा त स्वास फेर्नसमेत मुस्किल हुने अवस्था छ ।” उहाँले सडकमा पानी नहालेको दिन सामान बाहिर राख्न सकिने अवस्था नरहेको जनाउँदै सडकमा पानी हालेको दिन भने केही राहत हुने गरेको बताउनुभयो । सडकमा पानी हाल्ने काम निर्माण कम्पनी गरेको भए पनि वैशाख महिनाको चर्को घामले सडकमा हालेको पानी केही घण्टामै सुक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस