निमार्ण सम्पन्न योजनाको भुक्तानी दिन सरकार समक्ष माग

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १७ : ५५
निमार्ण सम्पन्न योजनाको भुक्तानी दिन सरकार समक्ष माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निमार्ण सम्पन्न योजनाको भुक्तानी दिन सरकार समक्ष माग गरेको छ ।महासंघको हालै सम्पन्न २२ औं साधारण सभाका निर्णयहरू सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले व्यवसायीको रकम भुक्तानी गर्न माग गरेका हुन ।

निर्माण परियोजनाहरू सम्पन्न भएपनि व्यवसायीहरूको करिब ६५ अर्व बढी भुक्तानी हुन बाँकी रहेको अध्यक्ष सिंहले जानकारी दिए ।महासंघको अवधारणा बमोजिम लो बिडिङलाई निरुत्साहित गर्ने हो भने निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान हुने अध्यक्ष सिंहले जानकारी दिए । आवश्यक्ता अनुसार परियोजनाहरूको म्याद थप गर्न ढिलाइ हुँदा निर्माण उद्योगमा धेरै समस्या आएको उनले बताए ।

अध्यक्ष सिंहले अन्य क्षेत्रमा जस्तै निर्माण उद्योगमा पनि कोभिडको असर देखापरिसकेको बताए । तर अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्यको मापदण्ड अपनाई निर्माण कार्यहरू संचालन गर्नुको विकल्प छैन’ अध्यक्ष सिंहले भने ।

म्याद थपमा देखिएको जटिलता, निर्माण सामाग्रीको अभाव, चर्को मुल्यवृद्धि लगायतका कारणले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताउँदै अध्यक्ष सिंहले व्यवसायीरूका माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने बताए ।

साधारण सभाका निर्णयहरू ४१ बुँदे काठमाडौं घोषणापत्र मार्फत सार्वजनिक गर्दै ‘सार्वजनिक खरिद ऐन–२०६३’का कतिपय प्रावधानलाई संशोधन गर्न माग गरेका छन ।

२०७७ चैत्र २९ र ३० गते राजधानीमा सम्पन्न महासंघको २२ औं साधारण सभामा देशभरका एक हजार भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस