मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

रासस

आइतबार, ०५ बैशाख २०७८, १५ : ०२
मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप बन्न लागेको हो ।

पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवीदेवताका मूर्ति राखिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले बताउनुभयोे जानकारी दिए । उनका अनुसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो । ती ६ धाम निर्माणका लागि करीब रु एक अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । मोक्षधामको यही वैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजना निर्माण स्थल (मोक्षधाम)मा बद्रिनाथ, जगन्नाथ, रामेश्वरम, द्वारिका, रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूपको सन्तमहन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनबाट सामूहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिए ।

यसैगरी निर्माण सपन्न मुक्तिनाथ मन्दिर, एक हजार १०८ शिवलिङ्ग द्वादश ज्योर्तिलिङ्गसहित विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्सङ्ग कक्ष) भवन, वृद्धा तथा बाल आश्रम र सभाहलको उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । ती निर्माण सम्पन्न पूर्वाधारको उद्घाटनका लागि अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज सहभागिता रहने बताइएको छ ।

सनातन वैदिक धर्मावलम्बीको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी २०७२ सालदेखि पूर्वाधार निर्माण शुरु गरिएको थियो । मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्सङ्ग हल, द्वादश ज्योतिर्लिङ्ग तथा एक हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, हवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभा हल निर्माण गरिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै करीब रु ६ करोड खर्च भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस