उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।डेढ महिनदेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो ।स्थानीय होटेल व्यवसायी तथा घरबास होमस्टे सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।
तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए । केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र कोही नौ किलोमिटर वैद्यनाथ खोलाबाट ट्र्याक्टरमा पानी बोकाएर खान बाध्य छन् । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउत भन्छन्, “केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ्ग गरेर गढीका ५० घर जनतालाई धाराबाट पानी वितरण गर्दै आएका हौँ । केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।” उनले गढी क्षेत्रमा बिजुली आइसकेको र मेशिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ बैशाख २०७८, १४ : ५१
लेखकबाट थप