काठमाडौं । हनुमानढोका दरबार मूल ढुकुटीमा रहेका करिब साढे १६ हजार गरगहना सङ्ग्रहालयमा राख्ने तयारी भएको छ । यसका लागि भद्रकाली मन्दिरको अर्धगोलाकार भवनलाई सङ्ग्रहालय बनाउने गरी भवनको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ ।
काठमाडौँ महानगरपालिकाले सो भवनको पुनर्निर्माण अगाडि बढाएको महानगरका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले जानकारी दिए । राणाकालीन र शाहकालीन समयमा मुलुकका सबै प्रमुख देवस्थलबाट ल्याइएका देवदेवीका गरगहना हनुमानढोका दरबारस्थित वसन्तपुर गद्दी बैठकमा थन्किएका छन् । केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार बैठक सामुन्नेको फरासखानामुनिको ढुकुटीका यी गहना फरासखाना पुनर्निर्माण गर्ने क्रममा हालै मात्र गद्दी बैठकमुनि सारिएको हो ।
पञ्चायतपछिको २०४६ सालको अन्तरिम सरकारको निर्णय अनुसार २०४८ सालमा यो ढुकुटी रुजुका लागि खोलिएको थियो । हाल वसन्तपुर दरबारमा रहेका यी गरगहनामा वि.सं. १८८९ मा सुरेन्द्रविक्रम शाहले गुह्येश्वरीलाई चढाएको २८ तोला सुनको मुन्डमाला, रानी राज्यलक्ष्मीले चढाएको ८९ तोला सुनको छत्र, जङ्गबहादुर राणाले चढाएको ४९ तोला सुनको भैरव मूर्ति छन् । यसैगरी चाँगुनारायणलाई चढाइएको छ तोलाको शङ्ख, सुरशम्शेर अक्षर कुँदिएको शोभा भगवतीलाई चढाइएको २७ वटा सुनको मुन्डमाला, मटिहानी लक्ष्मीनारायणको २४ तोला सुनको मयूर प्वाँख, झुम्का बाजु १० तोला पनि यहाँ रहेका छन् ।
]सबाहेक विभिन्न व्यक्ति, राजा र राजपरिवारले विभिन्न मन्दिरमा चढाएका मूर्ति, गरगहना, सुन र चाँदीका मुद्रा पनि यहाँ सङ्कलन गरिएको छ । यीबाहेक रणउज्जेश्वरी पाल्पा, गोरखा मनकामना, महाङ्काललगायत मुलुकका सबैजसो देवस्थलमा रहेका हीरा, पन्ना, जवाहरत, मणिमाणिक्य, सुनका ढाल तरबार, सुनको मुरलीलगायतका गरगहना छन् । रुजु गर्न गठित समितिले ढुकुटीमा रहेका यी गरगहनामध्ये आधाजसो गरगहना पुराताìिवक महìवको र सार्वजनिक रूपमा प्रदर्शन हुनुपर्ने निर्णय गरेको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ बैशाख २०७८, ०८ : ०८
लेखकबाट थप