काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले झट्का दिएको छ । प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने भएको हो ।
कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण ऊसँग १२ सांसदमात्र छन् ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र पनि पुग्दैन, एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ ।
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा पनि २० सांसद आवश्यक पर्दछ । २० सांसद एमालेसँगै रहेको अवस्थामा एमालेका सांसदले फ्लोर क्रस गरेनन् भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट छ ।
त्यसमा पनि राप्रपाले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरिसकेका कारण सरकारलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ । राप्रपाका सचिवालय सदस्य राजाराम बर्तौलाका अनुसार बिहीबार पार्टीका प्रमुख तीन नेताहरुको बैठकले सरकार बनाउने र ढाल्ने खेलमा राप्रपा सहभागी नहुने निर्णय गरेको छ ।
‘हामीले सरकार बनाउन पनि समर्थन जनाएका थिएनौं, त्यो सरकार जोगाउनका लागि पनि मत दिँदैनौं र ढाल्नका लागि पनि भूमिका निर्वाह गर्दैनौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १२ : २८
लेखकबाट थप