नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तीनवटा नेपाली चलचित्रले भाग लिने

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १२ : ०४
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तीनवटा नेपाली चलचित्रले भाग लिने

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन् ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि ‘लाटोकोसेरो, सरिता ११ वर्ष र आमाखान्डो’ चलचित्र प्रतिस्पर्धाका लागि छानिएको बताए।

आयोजकका अनुसार महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएका छन्। आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई प्रतिस्पर्धाका लागि पहिले नै छनौट गरिएको थियो तर नेपाली फिचर चलचित्र प्रतिस्पर्धाको छनौट बाँकी रहेको थियो अब जम्मा नीफमा ६६ चलचित्र देखाइने भएको छ।

प्रतिस्पर्धामा पहिलो हुने चलचित्रले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ चलचित्र सँस्कृतिको विकास गर्ने उद्देश्यले सुरु भएको फेस्टिभलमा यो वर्ष कोरोना भाइरस महामारी विषयमा बनेका चलचित्रलाई छुट्टै विधामा पुरस्कृत गरिने छ। यस विधामा विजयी चलचित्रले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने अन्तराष्ट्रिय अन्तर्गतको उत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशीले सम्मान गरिनेछ।

सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशी, सर्वोत्कृष्ट एनिमेटेट चलचित्रलाई ७५० अमेरिकी डलर, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर बराबरको बाग्मती अवार्ड प्रदान गरिनेछ। महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौँमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस