२०७७ लाई फर्केर हेर्दा : नेकपामा डिजास्टार

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, ०९ : ५६
२०७७ लाई फर्केर हेर्दा : नेकपामा डिजास्टार

काठमाडौं । २०७७ साल राम्रो वर्ष रहेन । एकातिर कोरोनाको महामारीले सबै क्षेत्र ध्वस्त भयो भने अर्कोतिर राजनीतिमा एउटा ठूलो दल बनेको नेकपामा डिजास्टर नै गयो । 

नेपाली राजनीतिमा २०७७ साल निकै उतार–चढावपूर्ण रह्यो । झन्डै दुई तिहाइको सरकार नेकपामा उतारचढाप आयो यो वर्ष । विश्वभर फैलिएको कोरोना महामारीका कारण मुलुक समस्याग्रस्त हुँदा पनि राजनीतिक स्थिरतामा सधैँ तगारो खडा भइरह्यो । 

कोरोना महामारी र राजनीतिक द्वन्द्व दुबै हिसाबले २०७७ साल बिर्सन लायकको वर्ष बनेको छ । सत्तारुढ दल नेकपाको विवाद सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई पुरानै घरमा फर्काइदियो । अथवा अदालतले दुबै एमाले र माओवादीलाई आ–आफ्नै घरमा जान भन्दै नेकपाको एकतालाई नै दुई टुक्रा बनाइदियो । 

दुई ठूला वाम घटक नेकपा एमाले र माओवादी केन्द्र मिलेर ०७५ जेष्ठ ३ गते जन्मिएको नेपाल कम्युनिस्ट पार्टी नेकपामा ०७७ सम्म आइपुग्दा छिन्नभिन्न भयो । प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपा ओली, प्रचण्ड–नेपाल र वामदेव गौतम समूहमा विभक्त भएको थियो । यो क्रम पुस ५ देखि फागुन २३ सम्म जारी रह्यो ।

यो वर्षको अन्त्यतिर आइपुग्दा ०७५ जेष्ठमा एक भएका नेकपा एमाले – माओवादी केन्द्र विधिवत रुपमा अलग्गिए । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतको फागुन २३ को उक्त आदेशले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ । पूर्ववत् अवस्थामा फर्किएको एमाले यतिबेला तीन चिरामा विभाजित भएको छ । एमालेको नेतृत्व केपी ओलीले गरिरहेका छन् भने माधवकुमार नेपाल समूहले समानान्तर अभ्यास अगाडि बढाएको छ । यता एमाले नेता बामदेव गौतम एमाले एकता अभियान चलाइरहेका छन् ।

सांगठनिक रुपमा बलियो र व्यवस्थित पार्टीमा रुपमा रहेका एमाले २०७७ सालमा अस्तव्यस्त बनेको छ । यो अवस्था कहाँसम्म पुग्ने हो पत्तो छैन, एमालेको धारबाट समानान्तर कमिटी बनाउँदै हिँडेका माधव नेपाल समूह कसरी एकतामा बाँधिन्छन् वा बाँधिदैनन् हेर्न बाँकी छ । पुरानै अवस्थामा फर्केको माओवादी केन्द्रको अवस्था कस्तो हुने हो त्यो पनि हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस