नेकपा माओवादीले गृहमन्त्री सहित ५ जना मन्त्रीलाई कारवाही गर्ने

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १२ : १९
नेकपा माओवादीले गृहमन्त्री सहित ५ जना मन्त्रीलाई कारवाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो । 

पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् । पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । 

माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र फागुन २३ पछि  पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस