डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

पत्रपत्रिकाबाट

बुधबार, १८ चैत्र २०७७, ०७ : ०६
डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ ।

कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो ।

पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण इन्ट्री भएको जानकारी दिए ।

‘६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको छ, केही जिल्लामा समायोजन टुंगिन बाँकी छन्, केही जिल्लाले विवरण पठाउन नै ढिला गरिरहेका छन् । त्यसले गर्दा सुरु कार्यतालिका पनि प्रभावित भएको छ,’ ढुंगानाले राजधानीसँग भने । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस