चितवन। देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् ।यसै क्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पाँचतारे होटल रोयल टुलिप निर्माण सम्पन्न भई आगामी अङ्ग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको छ ।
झण्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका– ५, जनकौली सामुदायिक वन कार्यालयअगाडि नै केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । होटलमा झण्डै १ अर्ब ५० करोडभन्दा बढी लगानी भएको छ ।
विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्सअन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्वबजारमा अझ प्रवर्द्धन गर्न सहयोग पुग्ने बताइएको छ । ‘चितवनको पर्यटनको देशमै अलग भूमिका छ,' केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले भने, 'यहाँ निकुञ्जका होटल बन्द भएपछि पर्यटकलक्षित स्टार होटल सञ्चालनमा आएका थिए । यस कारण पर्यटकहरूको माग र चितवनको विकासमा टेवा पुर्याउने उद्देश्यले पाँचतारे होटल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लागेका हौँ ।
होटलका लगानीकर्ता शाह गैरआवासीय नेपालीहरूका एक अगुवा पनि हुन् । चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल मात्र चल्ने र खुल्ने गरेकाले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको साहको भनाइ छ । उनले भने, ‘हामीले निर्माण गरिरहेको पाँचतारेस्तरको रिसोर्ट हो । चितवनमा लोकल ब्रान्डका होटलहरू मात्र रहेकोमा रोयल टुलिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो ।’
रिसोर्ट निर्माणको लागत सुरुमा ७० करोड रुपैयाँ अनुमान गरिएकोमा बढेर अहिले १ अर्ब ५० करोडभन्दा बढी पुगेको शाहले बताए । उनले भने, ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरूको व्यवस्था गरेका छौँ । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ ।
हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा जिल्लाकै ठूला सभा हल, पाँच सय क्षमताको बैंक्वेट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्वीमिङ पुल, पाहुनाहरूका लागि डुङ्गा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ्ग टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्टजस्ता सेवाहरू उपलब्ध हुनेछन् ।
प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेस्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, चारवटा प्राइभेट स्वीमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेका छन् । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ । होटलभित्रका सबै संरचना प्रकृतिमैत्री छन् । होटलमा ३ सयभन्दा बढीलाई रोजगारी दिने ग्रुपको तयारी छ ।
नेपालको अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन क्षेत्र कोरोना कहरका कारण थला परेको अवस्थामा अब गुणस्तरीय सेवामार्फत विदेशी पर्यटकहरूलाई आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान पुर्याउने विश्वासका साथ रिसोर्ट सञ्चालन गर्न लागिएको अध्यक्ष शाहले बताए ।
ग्रुपकै दोस्रो ठूलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्रान्डसहित उपस्थित लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्रान्ड ‘रोयल टुलिप’को कोभिड महाव्याधिका बीच शिलान्यास भई निर्माण सुरु भएको थियो ।
करिब ३४ रोपनी क्षेत्रफलमा बनाइएका २२ वटा भवनमा सुइटलगायत पाँच प्रकारका अत्याधुनिक सुविधासहितका कोठाहरू रहने रिसोर्ट नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरूको प्रयोग गरी निर्माण भएको शाहले बताए ।
रिसोर्टमा १३ वटा एकतल्ले, पाँचवटा दुईतल्ले, तीनवटा तीनतल्ले र एउटा चारतल्ले गरी २२ वटा भिल्ला रहेका छन् । यी भिल्लामा सुइटलगायत विविध सुविधासहितका ६४ कोठा छन् । रोयल टुलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एन्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खुला गरिएको पनि शाहले जानकारी दिए ।
सञ्चालक शाहले भने, 'रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरू सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ, जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरूलाई रोजगारी सिर्जना गर्न सकोस् ।'
सन् २०२० को जनवरीमा स्थापित केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण भएको केटीएम ग्रुपको पहिलो रिसोर्ट हो रोयल टुलिप । रिसोर्टभित्र १ फन्को लगाउँदा १ किलोमिटरको ट्रेल हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १४ : ५७
लेखकबाट थप