नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०८१, १४ : २८
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालका जलविद्युत् परियोजनाहरूले क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै लगेको बताएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा समुद्री मामिला तथा प्राकृतिक स्रोत मन्त्रालय र स्वनीति इनिसियटिभ्सको संयुक्त आयोजनामा जारी ‘ग्रीन साउथ एलायन्स इनर्जी ट्रान्जिसन सम्मेलन’ मा उनले यस्तो बताएका हुन् ।

‘पार्लियामेन्टेरियन ग्रुप अफ क्लिन एयर’ पीजीसीएका लागि अन्तर्राष्ट्रिय संसदीय समूहको नेपाल च्याप्टरको सहअध्यक्ष समेत रहेका सांसद सापकोटाले नेपालले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न गरेको प्रतिबद्धता, स्वच्छ ऊर्जा उत्पादनको महत्वाकाङ्‍क्षा र क्षेत्रीय सहकार्यका सम्भावनाहरूको चर्चा गरे ।

नेपालले सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको जलवायु अनुकूलन रणनीतिले स्थानीयस्तरमा समुदायलाई सशक्त बनाउँदै दिगो विकासको बाटोमा अघि बढ्न प्रेरित गरेको सापकोटाले बताए ।

नेपालको जलस्रोत र जलविद्युत् क्षमताबारे जानकारी गराउँदै सापकोटो ६ हजार भन्दा बढी नदीहरूले वार्षिक २२० अर्ब घनमिटर पानी प्रवाह गर्ने क्षमता रहेको बताए । नेपालले सन् २०३५ सम्म २८ हजार मेगावाटभन्दा बढी स्वच्छ ऊर्जा उत्पादनको लक्ष्य राखेको छ । यसले राष्ट्रिय माग पूरा गर्दै छिमेकी राष्ट्रहरूमा ऊर्जा निर्यात गर्नसमेत योगदान दिनेछ ।

हालै भारत र बंगलादेशसँग भएको विद्युत् निर्यात सम्झौतालाई उदाहरण दिँदै सांसद सापकोटाले नेपालको जलविद्युत् विकासले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको बताएका हुन् ।

जलविद्युत् परियोजनाहरूले रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकास गर्ने र समतामूलक विकासलाई सहयोग गर्ने उनको भनाइ छ ।‘ऊर्जा रूपान्तरण केवल प्राविधिक चुनौती मात्र होइन, यो समावेशी र दिगो भविष्य सुनिश्चित गर्ने अवसर पनि हो’ सापकोटाले भने, ‘दक्षिण एसिया र इन्डोनेसियाबीच सहकार्य गरी नवीन समाधानहरू विकास गर्न हामीले क्षेत्रीय साझेदारीलाई प्राथमिकता दिनुपर्छ ।’

सापकोटाले दक्षिण र दक्षिणपूर्व एशियामा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न आधुनिक प्रविधि, प्राविधिक विशेषज्ञता र वित्तीय स्रोतको सहज पहुँचको आवश्यकता औँल्याए । ऊर्जा रूपान्तरण प्रक्रियामा साना देशहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै सबैलाई सहकार्यका लागि आह्वान गरे ।

 

प्रतिक्रिया दिनुहोस