काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, १५ : ४२
काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

काठमाडौं । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो ।

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ ।

उक्त पानी आइतबार दिउँसोदेखि नै चावहिल महाँकालचौर क्षेत्रमा वितरण गरिने केयूकेएलको भनाइ छ ।‘पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना छ’ केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।

आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । आइतबार काठमाडौं उपत्यकामा मेलम्चीको ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस