क्याम्पसभित्रै मृत चित्तल भेटियो, विद्यार्थीले गरे सडक अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, १० : ३२
क्याम्पसभित्रै मृत चित्तल भेटियो, विद्यार्थीले गरे सडक अवरुद्ध

हेटौंडा । वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) हेटौँडामा मृत चित्तल भेटिएको छ । मृत चित्तललाई सडकमा राखेर विद्यार्थीहरुले विरोध गरेका छन् । मृत चित्तललाई डिभिजन वन कार्यालयले व्यवस्थापनका लागि कुनै काम नभएपछि विद्यार्थीहरुले विरोध गरेका हुन् । वन्यजन्तुको संरक्षण माग गर्दै  अध्ययनरत विद्यार्थीहरुले आइतबार हेटौंडामा केहीबेर सडक अवरुद्ध गरेका हुन्।

फरेष्ट्री क्याम्पसभित्र रहेका वन्यजन्तुको संरक्षणमा सरोकारवालाले कुनै चासो नदेखाएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीले पूर्व–पश्चिम राजमार्ग केहीबेर बन्द गरेका हुन् । उनीहरुले ‘क्याम्पस प्रशासन मुर्दावाद, चित्तल मार्न पाइँदैन, यस्तो प्रशासन चाहिँदैन’ जस्ता नारा लगाएका थिए  । क्याम्पसको जंगलमा रहेका वन्यजन्तु संरक्षणको माग गर्दै बारम्बार क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत प्रशासन मौन बसेकाले आफुहरु विरोधमा उत्रिन बाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

क्याम्पस परिसरको खुल्ला क्षेत्रलाई बन्द गरिनुपर्ने, सडक क्षेत्रको भू–भाग कटाएर क्याम्पस परिसरमा पर्खाल लगाउनुपर्ने, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्था हुनुपर्ने, उपमहानगरपालिकाले भुसिया कुकुरको व्यवस्थापन गर्नुपर्ने र क्याम्पसका कर्मचारीले पालेका कुकुरलाई छाडा छोड्न बन्द गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । क्याम्पस परिसरमा आइतबार बिहान एउटा चित्तल मृत फेला परेको थियो । फरेष्ट्री क्याम्पस परिसरभित्र लकडाउनको अवधि यतामात्रै १६ वटा चित्तल मृत अवस्थामा भेटिएको विद्यार्थीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस