काठमाडौँको वायुमा आँखा पोल्ने धुँवा, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १६ : ४५
काठमाडौँको वायुमा आँखा पोल्ने धुँवा, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव

काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाशमा शुक्रबार दिउँसोदेखि आँखा पोल्ने धुवाँ फैलिएको छ ।  मौसमविद् वरुण पौडेलले काठमाडौँ उपत्यकाको वायुमा धुवाँ मिसिएका कारण मौसम धुम्म भएको बताए।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  वायुमा केही दिनयता तुवाँलो देखिएको छ। धुँवा पनि मिसिएको छ। पश्चिमी वायु पनि सक्रिय छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा डढेलो लागिरहेकाले त्यहाँबाट निस्किएको धुँवा पश्चिमी वायुले काठमाडौँतर्फ ल्याएको हुनसक्ने पूर्वानुमान महाशाखाले जनाएको छ । 
लाङटाङ राष्ट्रिय निकुन्जका रेन्जर नितेन्द्र सिंहले त्यहाँ फागुनदेखि लगातार डढेलो लागिरहेको बताए।

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि मौसम स्वास्थ्यका लागि हानिकारक छ । यसले आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्छ। यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन। वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस