रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १६ : ४९
रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने

काठमाडौं । कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ। चौधरीको रिहाइका लागि राजधानीको माइतीघर मण्डलामा पाँच दिनदेखि चलिरहेको धर्ना कार्यक्रममा सहभागि गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिएका हुन्।

बिहीबार धर्ना स्थल माइतीघर मण्डलामा पुगेका थापालाई थारु अगुवाले १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। त्यसलाई सरकारले सम्बोधन गर्ने बताउँदै उनले सरकारले वार्ता टोली बनाउने जानकारी दिएका हुन्।

‘यसरी तपाईंहरुले निरन्तर धर्ना दिएर मात्रै समस्याको हल हुँदैन,’ थापाको भनाइ छ, ‘हल गर्नका लागि तपाईंहरुले वार्ता टोलि गठन गर्नूहोस् । सरकारका तर्फबाट पनि आज क्याबिनेट छ, त्यहाँबाट वार्ता टोली गठन र्छौं। अब छिट्टै वार्तामा बसेर यी १९ बुँदे समस्याहरु राख्नु भएको छ, यसलाई हामी वार्ता र संवादबाट नै निष्कर्षमा लगेर हल गर्ने सोचेका छौं ।’

नयाँ सत्ता समीकराणका लागि सत्तारुढ एमाले र जसपाबीच भएको वार्तामा चौधरी रिहाइको विषय पनि उठ्ने गरेको छ। टीकापुर घटनामा चौधरीलाई अदालतले दोषी ठहर गरेपछि उनी लामो समयदेखि डिल्लीबजार गारागारमा छन्। पछिल्लो पटक उनको रिहाइको विषय फेरि चर्चामा आएको छ।

आफू प्रधानमन्त्रीका तर्फबाट धर्ना स्थलमा आएको बताउँदै गृहमन्त्री थापाले सरकार पनि यो समस्या समाधान गर्ने पक्षमा रहेको बताए। ‘प्रधानमन्त्रीको तर्फबाट, सरकारको तर्फबाट म अहिले उपस्थित भएको छु,’ थापाको भनाइ छ, ‘हामी पनि यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने पक्षमै छौं । यी विषयहरु उठाउनु भएको छ, यी विषयप्रति सरकारको धारणा सकारात्मक नै छ ।

प्रतिक्रिया दिनुहोस