नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ११ : १७
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ

काठमाडौं । कीर्तिपुरमा नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजना पक्राउ परेका छन् ।  ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले रौतहट घर भएका गनबहादुर लोप्चन  ‘राजु’ र निता तामाङ ‘माया’ लाई पक्राउ गरेको हो । 

नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ वटा नोट बरामद गरिएको थियो ।

कीर्तिपुरस्थित उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ वटा र ५ सय दरको थप ५६ वटा नक्कली नोट फेला परेको छ ।

डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस