भरतपुर महानगरमा खानेपानी आयोजनाको निर्माण कार्य तीव्र, दिव्यनगर खानेपानी आयोजनाको सम्झौता सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, १७ : ३१
भरतपुर महानगरमा खानेपानी आयोजनाको निर्माण कार्य तीव्र, दिव्यनगर खानेपानी आयोजनाको सम्झौता सम्पन्न

चितवन । भरतपुर महानगरपालिकामा यतिबेला खानेपानी आयोजनाको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । महानगरभित्रका ८० प्रतिशतभन्दा बढी नागरिकको घरघरमा व्यवस्थित शुद्ध खानेपानीको सुविधा पुगेको छ ।

महानगर प्रमुख रेनु दाहालले महानगरकै २९ वडाका वडावासीहरुलाई शुद्ध व्यवस्थित खानेपानीको सुविधा उपलब्ध गराउन लागिपरेको बताइन् । उनले भनिन्, भरतपुर महानगरमा खानेपानीको हकमा धेरै प्रगति भइरहेका छन् । कतै खानेपानी आयोजनाको निर्माण कार्य पूरा भइसकेको छ, कतै निर्माण कार्यको सम्झौता भइरहेको छ, कतै निर्माणको शिलान्यास त कतै उद्घाटन भइरहेका छन् ।

आजै दिब्यनगर खानेपानी आयोजना निर्माणका लागि भरतपुर महानगरपालिकामा चार पक्षबीच वित्तीय सम्झौता भएको । केही दिनअघि मात्र शारदानगर खानेपानी आयोजना निर्माणको लागि वित्तीय सम्झौता भएको थियो । महानगर प्रमुख दाहालले भनिन्, ‘सम्झौताअनुसार निश्चित समयमै खानेपानी आयोजना पूरा हुनेछन्, म आफ्नै कार्यकालभित्र भरतपुर महानगरका सबै वडामा शुद्ध खानेपानी पु-याउने सुनिश्चितता गरेकी छु, त्यसकारण खानेपानी आयोजनाका काममा एकदिन पनि ढिलो गर्ने छूट मलाई छैन, त्यसैले अहोरात्र म खटिइरहेको छु ।’

दिव्यनगर खानेपानी आयोजना निर्माणको लागि तयार पारिएको सम्झौता पत्रमा दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्य, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका आयोजना प्रमुख जगरनाथ दास, भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले हस्ताक्षर गरेका छन् । यही चालु आर्थिक वर्ष २०७७\७८ बाट खानेपानी निर्माण सुरु हुनेछ । सम्झौताअनुसार आर्थिक वर्ष २०७९\८० मा आयोजना सम्पन्न गरिसक्नुपर्ने तत्कालिन खानेपानी तथा ढल ब्यावस्था विभागका योजना प्रमुख रत्नराज लामिछानेले जानकारी दिए । 

आयोजनाको कुल लागत इन्टिमेन्ट रकम २० करोड ९८ लाख ४१ हजार १८१ रुपैयाँ १८ पैसा रहेको छ । कुल लागतको ९० प्रतिशत नेपाल सरकार र १० प्रतिशत उपभोक्ता संस्थाले व्यहोर्नेछन् । आयोजना निर्माणपछि भरतपुर २६ दिव्यनगरका हालको ८ हजार ८७० जना लाभान्वित हुनेछन्। जसमा १ हजार ८५५ घरधुरी हुनेछन् । दुई वर्ष अगाडि तत्कालीन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो खानेपानी आयोजनाको माग गरेपछि हाल चार पक्षबीच सम्झौता भएको खानेपानी तथा ढल ब्यावस्था विभागले जनाएको छ । 

केही दिनअघि शारदानगर खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्ने सम्बन्धमा आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, भरतपुर महानगरपालिका र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच पनि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

वित्तीय सम्झौतापत्रमा आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशक रामकुमार श्रेष्ठ, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरुङले हस्ताक्षर गरेका थिए ।

भरतपुर महानगरपालिका १९, शारदानगरमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । सम्झौताका साक्षीमा वडाध्यक्ष कर्णबहादुर गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौड्याल रहेका थिए । महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताइन् । संविधानले शुद्ध पिउने पानीलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा लिएको बताउँदै उनले सोही बमोजिम महानगरपालिकाले काम अगाडि बढाइरहेको जानकारी दिइन् ।

भरतपुर महानगरभित्रका १६ वटा वडामा व्यवस्थित शुद्ध खानेपानीको सुविधा पुगेको छ । भरतपुर खानेपानी बोर्डले वडा नं–१ देखि १६ नं वडासम्म व्यवस्थित प्रणालीबाट शुद्ध खानेपानी उपलब्ध गराएको हो । भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर महानगरभित्रका ८० प्रतिशतभन्दा बढी जनताको घरमा शुद्ध खानेपानी पुगेको बताए । उनका अनुसार बोर्डले साना–ठूला खानेपानी आयोजनाबाट घरघरमा शुद्ध खानेपानी पु-याएको छ । महानगरका सबै वडामा छिटै शुद्ध खानेपानी पु-याउने उनी बताउँछन् । खानेपानी नपुगेका वडाहरुमा विस्तारको काम भइरहेको उनको भनाइ छ ।

केही समयअघि भरतपुर महानगरपालिकाको वडा नं–६ स्थित गीतानगरमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको थियो । महानगरपालिकाकी मेयर रेनु दाहालले ‘गीतानगर खानेपानी आयोजना’को ट्याङ्की शिलान्यास गरेकी हुन् । शुद्ध खानेपानी हरेक नागरिकको नैसर्गिक अधिकार भएकोले महानगरवासीको घरघरमा शुद्ध खानेपानी पु-याउने उद्देश्यसहित गीतानगरमा खानेपानी ट्याङ्की शिलान्यास गरिएको उनले बताइन् । 

वडा नं–६ का अध्यक्षसमेत रहेका खानेपानी आयोजनाका अध्यक्ष हरिविलास कोइरालाले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने प्रतिबद्धता जनाएका थिए। भरतपुर महानगरपालिका वडा नं–११ को  जखडीमाईमा ८६ करोड रूपैयाँको लागतमा नयाँ खानेपानीको योजना निर्माण भएको भरतपुर महानगरले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस