महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : मन्त्री महतो

रासस

शुक्रबार, २१ फागुन २०७७, १४ : ०१
महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताएकि छिन् । 

एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासङ्घले आज आयोजना गरेको ‘आदिवासी महिला र कोभिड–१९’ सम्बन्धी राष्ट्रिय अन्तरक्रियाको उद्घाटन समारोहका उनले  महिला हिंसा न्यूनीकरण गर्ने कानून धेरै भएको तर प्रभावकारी कार्यान्वयन नहुने महिला हिंसा न्यूनीकरणका कठिनाइ भएको सुनाईन् ।  

“नेपालमा संविधान र कानूनले महिला हिंसा नियन्त्रणसम्बन्धी धेरै व्यवस्था गरेको छ”, मन्त्री महतोले भनिन्, “तर प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा हामी चिन्तित छौँ, कार्यान्वयनको तहमा अति बढी ध्यान दिनुपर्ने जरुरी छ ।

” शिक्षा र आर्थिक महिलाको पहुँचमा पुग्न सकेमा समाजमा महिलामाथि हुने हिंसा विस्तारै कम हुँदै जाने उनको भनाइ थियो । 

मन्त्री महतोले महिला मन्त्रालयले भर्खरै लैङ्गिक समानता नीति पारित गरी लागू गरेको र त्यो तीनवटै प्रदेशमा लागू गरिने जानकारीसमेत दिईन् ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संविधानको मौलिक हकमै महिलासम्बन्धी हकको व्यवस्था गरेको र त्यो हकका लागि महिलाले  आवाज उठाउनुपर्नेमा जोड दिईन् ।

उनले  महिलाको तुलनामा प्रगति राम्रो हुँदै गए पनि समाजमा अझै पनि महिला हिंसाका घटनामा कमी आउनु नसक्नु चुनौतीको विषय रहेको बताईन् । 
    
 

प्रतिक्रिया दिनुहोस