काठमाडौं । स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३,२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो ।
विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २,१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १,१ को बराबरीमा सकिएको थियो ।
खेलको १७औं मिनेटमा रोजरले गोल गर्दै घरेलु मैदानमा लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३० औं मिनेटमा राहुल गार्सियाले विल्वाओका लागि बराबरी गोल फर्काए ।
निर्धारित ९० मिनेटसम्मको खेल १,१ को बराबरी भएपछि समग्रमा खेल २,२ को अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा विल्वाओका लागि एलेक्स बेरेनगाउरले निर्णायक गोल गरे । उनले ११२औं मिनेटमा गोल गर्दै विल्वाओलाई जिताए ।
अब बार्सिलोना र विल्वाओबीचको फाइनल खेल १७ अप्रिलमा सेभियाको मैदानमा हुनेछ । त्यसअघि विल्वाओले गत सिजन स्थगित भएको कोपा डेल रेकै फाइनलमा रियल सोसिडाडसँग ४ अप्रिलमा खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १२ : ०९
लेखकबाट थप