चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १६ : ४८
चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोज तलास गरी सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गरेको छ ।  

उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, किर्तिपुर, टोखा, नयाँबसपार्क लगायतका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएका प्रहरीले चोरी भएका मोटरसाइकलहरु बरामद गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बिहिबार मात्रै करिब ८० लाख बढी मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाइकलहरु धनिलाई बुझाइएको पनि बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले चोरी भएका मोटरसाइकल खोजी गरी सम्बन्धितलाई बुझाउनु ट्राफिक प्रहरीको कर्तव्य भएपनि सम्बन्धित धनीले पनि चोरी हुनै नदिने उपाय पनि अपनाउनुपर्नेमा जोड दिए । सवारी धनीले जहाँत्यही पार्किङ नगर्ने तथा जहाँत्यही सवारी साधन नछोड्न ध्यान दिए चोरी कम हुनेतर्फ उनले सचेत गराए ।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइसकिएको तथा चोरीमा संलग्न ४१ जना व्यक्तिहरुलाई पक्राउ गरी कारबाही समेत गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस