प्रधानमन्त्री ओलीको 'एकथरि भाषण, अर्कैथरी शासन'

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १० : ०६
प्रधानमन्त्री ओलीको 'एकथरि भाषण, अर्कैथरी शासन'

काठमाडौं । काठमाडौंमा केपी ओलीको शासन, उता प्रदेश २ मा यतैबाट खटाइएका नवनियुक्त पदाधिकारीको हैकम । प्रधानमन्त्री ओलीले भाषणमा जे बोलेपनि व्यवहारमा त्यसको विपरित हुने गरिएको यो घटनाले देखाएको छ । 

दलित नेता तिलक परियारलाई अपमानपूर्वक अपदस्थ गर्दै प्रदेश २ मा प्रमुख नियुक्त गरिएका राजेश झा (अहिराज) ले त्यहाँका कर्मचारीहरुलाई भनेका छन्, ‘तपाईंहरुले मसँग समन्वय गरेर काम गर्ने हो, प्रदेश सरकारसँग हैन । किनभने, म केन्द्र सरकारको प्रतिनिधि हो ।’

तिलक परियार हटाइनु र नियुक्त हुनासाथ अहिराजले यस्तो भन्नुका पछाडि केही कारण छन् । केन्द्रमा मस्यौदा पारित हुन बाँकी निजामती सेवा ऐन रोकिएको छ । कारण हो, सरकारी सेवाबाट अवकास पाएको व्यक्तिले संवैधानिक अंगमा नियुक्त हुन दुई वर्षको कुलिङ पिरियडमा बस्नुपर्ने प्रावधान । त्यही प्रावधानका कारण केन्द्रमा त्यो मस्यौदा राज्यव्यवस्था समितिमै अल्झाएर राखिएको छ । 

ऐन पारित गरिएको भए प्रेम राईहरुलाई अख्तियार प्रमुख बनाउने बाटो बन्द हुन्थ्यो । तर, प्रदेश २ मा तिनै कुराहरु उल्लेख भएको प्रादेशिक निजामती सेवा ऐनलाई प्रदेश प्रमुखका हैसियतले तिलक परियारले प्रमाणिकरण गरिदिए । त्यसपछि कर्मचारी मार्फत उनी बालुवाटार र शीतलनिवासको घेराबन्दीमा परे ।  

अर्कातिर, सम्मानित पदका रुपमा हेरिने प्रदेश प्रमुखको गरिमा पनि घटेको चर्चा गरिँदैछ । नियुक्त भइसकेपछि तोकिएको अवधिसम्म काम गर्न दिइनुपर्ने उक्त पदबाट तिलक परियारलाई अपमानपूर्व निकालिनुको अर्को कारण हो, रक्सी । राति रक्सी पिएर रेल कम्पनीमा जिएम नियुक्त गुरु भट्टराईले प्रधानमन्त्रीको धर्मपुत्र हुँ भन्दै तिलकका पिएलाई थर्काएका थिए । 

रातबिरात कसैले थर्काएपछि पिएले पनि त्यसको जवाफ दिनै प¥यो । तर, त्यसबापत पिए हैन, प्रदेश प्रमुख नै अपमानपूर्वक निकालिए । जबकि, राष्ट्रपति वा प्रधानमन्त्रीले भनेको भए तिलक राजीनामा दिन पनि तयार थिए । तर उनलाई केही छनक नदिई ओलीले पदबाट बर्खास्त गरिदिए । 
 

प्रतिक्रिया दिनुहोस