काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे गर्ने निर्णय आफ्नो पक्षमा आउने दावी गरेका छन् ।
नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै सोमबार अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता दिइने र सूर्य चिन्ह पनि आफैले पाउने बताए । उनले भने, ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।’
उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।
उनले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशुस गरेर नै दुई ठुला कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्दै पार्टी एकता गरेपनि ओलीका कारण त्यो दिशामा धक्का लागेको बताए ।
‘सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे हुनुहुँदोरहेछ । सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हो’, प्रचण्डले भने, ‘यसले उहाँमा इमान्दारीता र निष्ठा रहेन । उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्याउनु भयो ।’
‘आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा हामी झन बलियो भयौँ भनेको सुनिन्छ । यस्तो पनि हुन्छ कहीँ ? राजीनामा दिनु त कता हो कता, उल्टै उहाँ आफै कारवाही गर्दै हिँड्नुहुन्छ’ प्रचण्डले ओलीको कटाक्ष गरे ।
उनले छिटै नयाँ सरकार बन्ने भन्दै उक्त सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू ढुक्क रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा