संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्छ : रघुजी पन्त

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १६ : २९
संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्छ : रघुजी पन्त

file Photo

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन् ।

नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध ¥यालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रुपमा भएको संसद विघटन सर्वोच्च अदालतको फैसलाद्धारा सच्चिन सम्भव भएको बताएका हुन् । सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनस्थापना गर्नेमा विश्वास रहेको बताए । जनतालाई जागरुक बनाउन र संसद पुनस्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको ¥यालिमा प्रदर्शनकारीहरुले संसद पुनस्थापनाको माग गर्दै नाराबाजि समेत गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए । संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि कू भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरु समेत खोसिएको अनुभुति भएकाले संसद पुर्नस्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए ।

प्रदर्शनकारीहरुले दलित भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौँ, सामाजिक न्याय सहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधि सभाको पुर्नस्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस