माया त यस्तो होस्

पाकेटमार श्रीमान्लाई छुटाउन घुस लिएर जाँदा पक्राउ परिन् शर्मिला

विहीबार, ०८ चैत्र २०७४, १५ : ०१
पाकेटमार श्रीमान्लाई छुटाउन घुस लिएर जाँदा पक्राउ परिन् शर्मिला

काठमाडौं । चोर, गुण्डा, पाकेटमार जे भएपनि श्रीमान्को माया श्रीमतीलाई नलाग्ने कुरै छैन । बसमा यात्रुको गोजीबाट पैसा चोरेपछि प्रहरीले पक्राउ गरेका श्रीमान्लाई छुटाउन घुस लिएर प्रहरी कार्यालय पुगेकी एक महिला समेत पक्राउ परेकी छिन् ।

यो घटना काठमाडौंको हो । हिजो बुधबार कोटेश्वरबाट गौशाला जाँदै गरेको सार्वजनिक गाडीमा यात्रा गरिरहेका सरोज कार्कीले आफ्नो साथमा ७५ हजार बोकेका थिए । ललितपुरको ग्वार्कोमा बस्दै आएका आले भनिने विवेक लामाले काभ्रेको धुलिखेल स्थायी घर भएका सरोजको गोजीमा हात हालेर उक्त रकम निकाल्दै गर्दै सादा पोशाकमा खटिएका प्रहरीले लामालाई नियन्त्रणमा लिएको थियो । पाकेटमार लामालाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धान चलिरहेको बेला लामाकी श्रीमती शर्मिलाले लामालाई छुटाउन अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीलाई तीन लाखरुपैयाँ घुस दिन खोजिन् । प्रहरी अधिकारीले घुस लिएनन्, घुस रकमसहित शर्मिलालाई पनि पक्राउ गरे ।

‘प्रहरी कर्मचारीलाई घुस रकम दिन खोज्ने शर्मिला तामाङलाई उनले दिन ल्याएको रकमसहित नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘उनको साथबाट ३ लाख २४ हजार बरामद भएको छ । आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ शर्मिलाले आर्थिक प्रलोभन देखाएर अनुसन्धान प्रभावित बनाई पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरेर फसाउने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
आले समूहले आ–आफ्नो काम छुट्याएर सार्वजनिक यातायातमा यात्रारत यात्रुहरुलाई घचेटेर हुलदंगा गर्र्दै योजनावद्ध पाकेटमारी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस