पर्यटकिय हब बन्दै हेटौडाको ‘शहीद स्मारक’

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, ०८ : ३३
पर्यटकिय हब बन्दै हेटौडाको ‘शहीद स्मारक’

वाग्मती । हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा नपसी फर्कने कमै हुन्छन् ।

दशै, तिहार र छठपछि त यस उद्यानमा भारतीय र आन्तरिक पर्यटकको भीड लाग्ने स्मारक व्यवस्थापक आरसी न्यौपाने बताउनुहन्छ । उहाँका अनुसार वनभोज, विवाह, व्रतबन्ध, गोष्ठी, अधिवेशन जस्ता कार्यक्रमले स्मारकलाई व्यस्त राख्ने गर्छ । अध्ययन भ्रमण तथा घुमघामका लागि पनि यो स्मारक एक आकर्षण बनेको छ ।

त्यसैले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । यहाँ वार्षिक पाँचदेखि छ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकीय याममा भने यहाँ दैनिक पाँचदेखि सात हजार मानिस आउने गर्छन् । शहीदहरुको स्मृतिमा देशभर निर्माण भएका स्थलमध्ये सबैभन्दा ठूलो स्थलको रुपमा रहेको शहीद स्मारक देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।

 निजी क्षेत्रबाट निर्माण भएर पनि देशमै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दै गएको शहीद स्मारक उद्यान, हेटौँडामा अहिले दैनिक औसत दुई हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्मारक कार्यालयले जनाएको छ । पर्यटकलाई आकर्षित गर्न उद्यान क्षेत्रमा बालउद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोजस्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, आकर्षक प्रवेशद्वार, झोलुङ्गे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, बगैचा, धरहरा पार्क, मैत्रीपार्क लगायतका संरचना बनाइएको छ ।

उद्यानका प्रमुख संरचना २० हेक्टर क्षेत्रफलमा रहेको भए पनि यसका कयौं गुणा वनक्षेत्रलाई आकर्षक बोटबिरुवा तथा फलफूलहरुले आकर्षक रुपमा सिँगारिएको स्मारक व्यवस्थापक आरसी न्यौपाने बताउछन् । यस उद्यानको उत्तर–पश्चिमपट्टी धार्मिकरुपमा पवित्रस्थल गुफा तथा मठमन्दिर छन् ।

तराईको समथर भूभागदेखि उच्च पहाडी क्षेत्रमा पाइने वनस्पतिहरु पाइने यहाँको वनलाई श्रद्धालुहरु अलौकिक मान्ने गर्दछन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो रहने शहीद स्मारक उद्यानको २६ वर्ष अघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस