संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ : नीलाम्बर आचार्य

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, १४ : १३
संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ : नीलाम्बर आचार्य

काठमाडौँ । पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन्।

भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’ विषयक कार्यक्रममा संविधानका जानकारसमेत रहनुभएका आचार्यले सबै वर्ग, समुदाय, जाती, भाषा, पेसाका नागरिकको साझा समस्या समाधान गर्नका लागि संविधान संशोधनको बहस चलाउनु आवश्यक हुने बताए ।

पूर्वमन्त्री आचार्यले भने, “देशको मूल कानुन संविधानबारे सबै तह र निकायलाई बुझाउने र प्रष्ट पार्नु पर्न आवश्यकता छ, त्यसपछि समयसापेक्ष बनाउन संशोधनमा जाँदा प्रभावकारी हुन्छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले मुलुकको कमजोर अर्थतन्त्रको सुधार गर्दै सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई परिणाममुखी तुल्याउन भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको विषयमा सरोकार भएका निकाय तथा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशसभाका सांसद दीपेन्द्र श्रेष्ठले लोकतन्त्र प्राप्त भएपछि मुलुकले आर्थिक र समृद्धिका क्षेत्रमा विकास हुनुपर्नेमा राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायत कारणले सोचेअनुसार उपलब्धि हासिल हुन नसकेको विचार राखे ।

अर्थशास्त्री डा रेवतबहादुर कार्कीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले वित्तीय अनुशासन कायम गरी त्यसलाई सुधार गर्दै अघि बढनुपर्ने आजको आवश्यकता रहेको बताए ।

संविधानका जानकार काशीराज दाहालले राजनीति र प्रशासनिक क्षेत्र आर्थिक अनुशासनभित्र नबाँधिएकाले भ्रष्टाचार बढ्न गई सुशासन प्रवर्द्धन हुन नसकेको धारणा व्यक्त गरे । वरिष्ठ पत्रकार बविता बस्नेतले विद्यालय शिक्षा पूरा गर्नासाथ बालबालिका रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्तिले हाम्रा विश्वविद्यालयका कक्षाकोठा खाली हुँदै गएका भन्दै सरोकार भएका पक्षले विद्यमान नीति र व्यवहारमा सुधार गर्नुपर्ने खाँचो औँल्याए ।

कलेज सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद दाहालले विश्वविद्यालयका पाठ्यक्रमको निरन्तर फेरबदल, विभिन्न प्रयोग र परीक्षणले नेपालको शिक्षा क्षेत्रमा असल नतिजा ल्याउन समस्या भइरहेको उल्लेख गरे ।

साहित्यकार रमेशमोहन भट्टराईलाई ‘ज्येष्ठ नागरिक सम्मान’का साथै विभिन्न विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने १० जना छात्रालाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस