ट्हो त्हेँ पर्वमा गुरुङले गाए, गुरुङ्सेनीहरु छमछमी नाचे

मंगलबार, ०६ चैत्र २०७४, १७ : २८
ट्हो त्हेँ पर्वमा गुरुङले गाए, गुरुङ्सेनीहरु छमछमी नाचे

चितवन । तमू समाज नौरंगेको व्यवस्थापनमा तमू प्ये ल्हू संघ चितवनले मंगलबार भरतपुरमा ट्हो त्हेँ पर्व मनाएको छ । परम्परा अनुसार हरेक वर्ष चैत महिनाको पहिलो अथवा अन्तिम साताको मंगलबार यो पर्व मनाउने चलन छ ।
गुरूङ समुदायको मौलिक परम्पराअनुसार विगत एक दशकदेखि चितवनमा ट्हो त्हेँ पर्व मनाउँदै आइरहेको तमू प्ये ल्हू संघ चितवनका अध्यक्ष जगतबहादुर गुरूङले बताउनु भयो । समाजमा अप्रिय घटना नहोस् भनेर गाउँरक्षाको लागि यो पर्व मनाउने चलन चलेको उहाँले बताउनु भयो । संस्कृति संरक्षणको लागि यो पर्व मनाउँदै आएको उहाँले बताउनु भयो ।
पहिलापहिला हरेकको घरघरमा पूजाआजा गरेर पर्व मनाउने चलन भए पनि समयको परिवर्तनसँगै हिजोआज भने पायक परेका सबै एक ठाउँमा जम्मा भएर सामूहिक पूजा गर्ने चलन रहेको संघका वरिष्ठ उपाध्यक्ष तुलाराम गुरूङले बताउनु भयो । प्हच्यू, घ्याप्री र वोन्पो लम गुरूङ्हरूमार्फत पूजा गरेर गाउँको रेखबार गर्र्ने पुरानो चलन रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा चितवन जिल्लामा रहेका ७० भन्दा बढी संघसंस्थाबाट सहभागिता रहेको तमू प्ये ल्हू संघ चितवनका सचिव विक्रम गुरूङले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरूको मौलिक नृत्य तथा चर्चित गायक मनोज गुरूङको गायन प्रस्तुत गरिएको थियो ।
कार्यक्रम सुरू हुनुपूर्व बिहान जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरबाट जातीय भेषभुषासहित वृहत ¥याली निकालिएको खेमा तमू समाज नौरंगेका अध्यक्ष रणबहादुर गुरूङले जानकारी दिनुभयो । ¥याली मालपोत चोक, नौरंगेचोक हुँदै खेमा तमू समाजको प्राङ्गणमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस