सरकारको काममा प्रगति भइरहेको छ : प्रधानमन्त्री ओली

मंगलबार, ०६ चैत्र २०७४, १५ : ३३
सरकारको काममा प्रगति भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले विकास, निर्माण सम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पारे ।

दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न मंगलबार काठमाण्डुमा आइपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लैजाने योजना पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको बताए ।

गृहजिल्ला झापास्थित दमक–चिसापानी सडकका उपभाक्ताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका प्रगति र आयोजनाको समेत चर्चा गरेका हुन् । भेटमा उपभोक्ता समितिले आयोजनाको उचित व्यवस्थापनका लागि थप १ अरब ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ ।

उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस