मह किसानको समस्या अध्ययन गर्न सहसचिव सापकोटाको संयोजकत्वमा समिति गठन

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १४ : १७
मह किसानको समस्या अध्ययन गर्न सहसचिव सापकोटाको संयोजकत्वमा समिति गठन

काठमाडौँ । मह उत्पादक किसानको समस्या अध्ययन गर्न एक अध्ययन समिति गठन गरिएको छ । आइतबार मन्त्रालयमा बसेको सरोकारवालाको सहभागितामा बसेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको संयोजकत्वमा सरोकार पक्षको समेत सहभागिता हुने गरी ९ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने बताए ।

उनले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीको भनाई छ । मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छन् ।

मह आयत रोके पनि सिरफको रूपमा यसको आयात भइरहेको भन्दै मह किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन् ।

प्रतिक्रिया दिनुहोस