एसियाली अनलाइन सुटिङ प्रतियोगितामा सुस्मिताको ६१९ स्कोर

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, १४ : २०
एसियाली अनलाइन सुटिङ प्रतियोगितामा सुस्मिताको ६१९ स्कोर

काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् । उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी  थिए । एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक बटुले ।

उक्त स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ५९०.८, अर्नव घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडेका छन् । यो स्पर्धामा पनि ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष/महिलाको राइफलतर्फ ६५४ पूर्णाङ्क थियो ।

शुक्रबार भएको पुरुष÷महिला १० मिटर एयर पेस्तोलको समग्र नतिजा आयोजकले प्रकाशित गरेको छ । पुरुषमा नेपालका विपेश खड्का ३८ औं, बद्रुउद्दिन अन्सारी ४३ औं तथा सुखदेव थारु चौधरी ४४ औं स्थानमा रहे । ४७ खेलाडी सहभागी उक्त स्पर्धामा भारतका सौरभ चौधरी पहिलो, इरानका फोरुघी जाभद दोश्रो तथा भारतका सरोबजित सिंह तेश्रो भए ।

महिलामा नेपालका कृष्णा थापाले २७ औं तथा सरिता बस्नेतले ३८ औं स्थान हासिल गरे । समग्रमा ४५ खेलाडीले भाग लिएका थिए । इरानकी हनीयेह रोस्तामियान, इरानकै गोल्नोस सेबातोल्लाही र भारतकी भकर मानु क्रमशः शीर्ष तीन स्थानमा रहे । एयर राइफलको समग्र नतिजा आइतबार थाहा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस