ओम्नी काण्डमा इश्वर र भानुभक्तलाई अख्तियारको सफाई

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, ०९ : ०३
ओम्नी काण्डमा इश्वर र भानुभक्तलाई अख्तियारको सफाई

काठमाडौं । अख्तियारले कोरोना कालमा मेडिकल सामान खरिदमा अनियमितता काण्ड लागेको ‘ओम्नी काण्ड’ बाट उपप्रधानमन्त्री इश्वर पोखरेल र तत्कालिन स्वास्थ्यमन्त्री तथा हालका पर्यटनमन्त्री भानुभक्त ढकाललाई सफाई दिएको छ । ओली निकट नेताहरुलाई धमाधम क्लिन चिट दिदैं चोख्याउने काममा अहिले अख्तियार प्रमुख लागेको छ । 

त्यही क्रममा उपप्रधानमन्त्री पोखरेल र मन्त्री ढकाललाई चोख्याउने काम अख्तियारले गरेको हो । यी दुई नेतासँग अख्तियारले सामान्य बयान समेत नलिईकनै क्लिन चिट दिने काम भएको अख्तियार स्रोतले बताएको छ ।

बयान विना नै अनुसन्धान प्रक्रिया शुरु गरेर चोख्याउने काममा अख्तियार लागेपछि अख्तियार भित्र पनि प्रधानमन्त्री केपी ओलीको सेटिङ काण्ड चलेको चर्चा अहिले अख्तियारमा हुन थालेको छ । उक्त अनियमितता हुँदा ढकाल स्वास्थ्य मन्त्री थिए । र उनकै प्रत्यक्ष निगरानी र निर्देशनमा स्वास्थ्य सामग्री खरिदको काम भएको थियो । 

यस्तै सार्वजनिक खरिद ऐनको प्रक्रिया भन्दा बाहिर गएर सामान खरिद गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले निर्देशन दिएका थिए । तर अख्तियारले मेडिकल सामन खरिदमा उनीहरुको संलग्नता नदेखिएको भन्दै चोख्याउने निर्णय लिएको हो । अख्तियारले उक्त अनियमितताको अनुसन्धान टुंग्याउन स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशन महेन्द्र श्रेष्ठको बयान लिइसकेको छ ।

बाँकी अरु सुब्बा, खरिदार र अधिकृतस्तरका कर्मचारीको मात्र बयान लिएको अख्तियार स्रोतले जनाएको छ । अख्तियार सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्डमा ७० करोडको घुस काण्डमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पनि चोख्याउने रणनीतिमा अहिले लागेको छ ।

आम सर्वसाधारणलाई ओम्नीबाट सरकारका मन्त्रीहरु उपप्रधनमन्त्री इश्वर पोखरेल र मन्त्री भानुभक्त ढकाल समेतको मिलोमत्तोमा मेडिकल सामग्री खरिदमा अनियमितता गरेको बुझाईमा छन् । तर अख्तियारले चोख्याउने काम गरेको छ । केही समय अगाडी ओम्नीलाई कालो सूचिमा राख्ने पहिले सरकारको निर्णय समेत अहिले हटाईसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस