६ युवती भारतमा बेचिनबाट जोगिए

सोमबार, ०५ चैत्र २०७४, ११ : ०४
६ युवती भारतमा  बेचिनबाट जोगिए


कपिलवस्तु : लुकी छिपि भारत प्रवेश गर्न लागेका युवतीहरुलाई प्रहरीले उद्धार गरेको छ । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको हो ।

सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जिल्लाका चार गरी ६ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ । ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले युवतीसँगै एक जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले भन्नुभयो, “शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायौँ । सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर सीमा कटाउन लागेको रहेछ ।” बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको छ । यहाँको मर्यादपुर–खुनुवा सीमा नाकामा महिलासम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलीबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयवासीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस