देउवाले खोजे नेकपा विभाजनको आधिकारिकता

‘तपाईहरु मिल्ने हो कि फुट्ने हो ? आधिकारिकता दिनूस्, त्यसपछि हामी के गर्ने सोचौँला ।’

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, ०८ : ४०
देउवाले खोजे नेकपा विभाजनको आधिकारिकता

काठमाडौं । सम्वैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणमा कांग्रेस सभापति शेरवहादुर देउवाले द्वैध चरित्र देखाएको आरोप कांग्रेसभित्रै छ । एकातिर अध्यादेशको विरोध, अर्काेतिर त्यही अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीसँग भागवन्डा गरी भित्री साँठगाँठ ।

प्रतिनिधिसभा विघटनपछि पनि देउवाको द्वैध चरित्र कायमै छ । आफूलाई प्रजातन्त्रको वकालत गर्ने पार्टी पनि भन्ने, अनि संविधानमै नभएको अधिकार आफनो तजबिजी व्याख्याका आधारमा ओलीले असम्बैधानिक र स्वेच्छाचारी ढंगबाट प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्दासमेत त्यसको पुनस्र्थापनामा जोड नगरी देउवाको रणनीति असम्वैधानिक पनि भन्ने र चुनावमा मात्रै जोड गर्ने द्वैध चरित्रको देखिएको छ ।

कांग्रेसभित्रै देउवाको यो भूमिकालाई लिएर अनेक प्रश्न उठेको छ । ‘तपाईँको लाइन प्रष्ट भएन, चुनाव हो कि अहिले असम्वैधानिक कदमका विरुद्ध सडक आन्दोलन ? अनि के ओलीले वैशाखमा चुनाव गराउने ठान्न भएको छ ? गराउँछन् चुनाव ? नहुने चुनावमा किन मरिहत्ते ?’ देउवालाई उनकै पार्टीका प्रभावशाली नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि कृष्णप्रसाद सिटौलासम्मका नेताहरुले सोधिरहेका छन् ।

देउवा दुवै खुट्टामा आफनो पाइला चालेर नेकपाभित्रको विवादलाइृ पर्ख र हेरको नीतिमा अगाडि बढ्न थालेका छन् । देउवाले सरकारमा पनि नेकपा, सडकमा पनि नेकपा नै रहेकोले पहिले नेकपाभित्रको विवादको टुंगो लाग्नुपर्ने धारणा बताउन थालेका छन् । ‘उनीहरु फुटेकै कहाँ छन् र ? अहिले एउटा इस्युमा झगडा गरे, फेरि भोलि मिले भने के गर्ने ?’ देउवाले  पहिले यसको सुनिश्चितता खोजेका छन् । मन ओलीतिरै राखेका र ओलीको अफरमा लोभिरहेका देउवा चुनाव साँच्चै भए नेकपा विभाजनको फाइदा आफूहरुले लिने, त्यसपछि पार्टीको महाधिवेशनमा पनि त्यही फाइदा देखाउँदै पूनः सभापति जित्ने रणनीतिमा पनि देउवा लागेका छन् ।

ओलीले पनि उनलाई सत्ता सहकार्यको प्रस्ताव गरेकै छन्, फेरि प्रधानमन्त्री बन्ने दाउपेज पनि देउवामा छ । त्यही कारण पनि पार्टीको बहुमत धार ओलीको प्रतिगमनका विरुद्ध सडक संर्घषमा जोड गरिरहँदा पनि उनी अझै निश्र्कषमा पुग्न सकेका छैनन् ।

बुधबार नेकपाको प्रचण्ड नेपाल उनलाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगे । शुरुमा निक्कै समय भेट्नै नचाहेका देउवाले त्यो दिन भने भेटलाई गोप्य राख्ने गरी भेट्न तयार भए । तर उनले प्रचण्डले के ओलीले चुनाव गराउँछन् भन्ने लाग्छ तपाईलाई ? भनेर सोधेको जवाफ भने दिन सकेनन् ।

पहिले सम्वैधानिक व्यवस्था अनुसारको कदममा साथ दिन र ओलीको प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलनमा जान गरेको आग्रहलाई पनि देउवाले खास जवाफ दिन चाहेनन् । उनले यति मात्रै भने, ‘तपाईहरु के फुट्नु नै भएको हो त ?’ देउवालाई अझै नेकपाका नेताहरु कुनै विन्दुमा पुगेर मिले भने के गर्ने भन्ने आशंका ब्याप्त छ । त्यही भएर उनले नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसँगको भेटमा सोधे, –‘तपाईहरु मिल्ने हो कि फुट्ने हो ? पहिले त्यसको आधिकारिकता दिनूस्, त्यसपछि हामी के गर्ने सोचौँला ।’

प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर प्रचण्ड नेपाल आन्दोलनमा रहँदा देउवाले पुनस्र्थापना भए त्यसपछिको परिस्थितिमा कतै नेकपा एक हुने अनि फेरि आफूहरुको अवस्था उस्तै हुने हो कि भन्ने ठूलो आशंका ब्यक्त गरेका छन् । उनले पुनस्र्थापना भएर नेकपा नमिले पनि त्यसपछि आफूलाई प्रधानमन्त्रीको अफर नेकपाको कुन पक्षले कसरी दिन्छ ? भन्ने विषयको पनि लेखाजोखा गरेर बसेका छन् । त्यही भएर उनले पहिले नेकपाभित्रको विवादको आधिकारिकताको खोजी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस