काठमाडौं । विश्वचर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक’को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ । सोमबार एभरेस्ट होटलमा आयोजित समारोहमा बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरियो ।
नेपालका लागि उत्पादन तथा प्रसारण अधिकार प्राप्त गरेको हिमालय टिभीले केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने भएको छ । समारोहमा पहिलो सिजनका पाँच जना शार्कहरू (जज) सार्वजनिक गरियो । जसले लगानीको लागि प्रस्ताव लिएर आएका स्टार्टअपमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउनेछन् ।
पहिलो सिजनका लागि आइएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारिया र पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिका सार्क (जज)का लागि अनुबन्धित भएका छन् । दुई जना अतिथि शार्क पछि थप्ने तयारी छ ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरु भएको यो शो अहिले विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शो बनेको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।
समारोहमा सोनी टेलिभिजन लण्डनका कार्यकारी प्रमुख र भारतीय ‘शार्क ट्यांक’का सदस्यहरूले शार्क ट्याङ्क नेपालको शुभारम्भको अवसरमा हिमालय टिभीलाई भिडियोमार्फत बधाई तथा शुभकामना सन्देश दिएका थिए ।
समारोहमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले तीन वर्षअघि नै सोनीसँग सम्झौता भएपनि कोभिड र आर्थिक मन्दीका कारण शो आउन ढिलाइ भएको बताए । नेपालमा व्यवसायको भविष्य सम्भव रहेको, उद्यमशीलताको विकास र सेलिब्रेसन गर्न सकिने सन्देशसहित शो आउन लागेको उनले बताए ।
‘हाम्रा शार्क पनि विश्वका अन्य शार्कजस्तै कुममा कुम मिलाएर अघि बढ्न तयार छन्,’ कँडेलले भने, ‘व्यवसायलाई जति सम्मान हुनुपर्ने हो, त्यो नभइरहेको बेलामा यो शोले सम्मानको वातावरण सिर्जना गर्नेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १५ : ४६
लेखकबाट थप