गाई काटेको अभियोगले सिङ्गो तामाङ गाउँ त्रासमा

आइतबार, ०४ चैत्र २०७४, १९ : ३४
गाई काटेको अभियोगले सिङ्गो तामाङ गाउँ त्रासमा

चन्द्र घलान

मकवानपुर । गाई काटेको अभियोगमा स्थानीयहरु धमाधम समातिन थालेपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमन्टारका स्थानीयहरु त्रसित बनेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुले दिएको बयानका आधारमा ३ जनालाई पक्राउ गरेपछि गाउँमा त्रास बढेको हो । गाई काटेको प्रमाणित नै भएको भन्दै पोष्टमार्टम रिपोर्ट नै तयार भएको बताइएको छ । यसैबिच त्रसित गाउँलेलाई त्रास देखाएर केही बिचौलियाहरुले लाखौँ लुट्ने योजनाहरु समेत बनाएको सार्वजनिक भएको छ । प्रहरीबाट समातिने डरले त्रसित भएका केही स्थानीयले नाम नबताउने सर्तमा आफुहरु दोहोरो मारमा परेको बताएका छन् । ‘हामी निर्दोष छौँ तर हाम्रो पनि नाम भएको भन्दै केही व्यक्तिले केस मिलाउने भनेर १ देखि ७ लाखसम्म मागेको छ,’ उनीहरुले भने, ‘हामी गरिब छौँ, पैसा तिर्न पनि सक्दैनौँ अनि बिना कसुर जेलमा गएर बस्दा पनि हाम्रो परिवारको बिचल्ली हुन्छ ।’
यस्तै डरमा यहाँका स्थानीयहरु केही त गल्ती नै नभए पनि गाउँ नै छोडेर भाग्न थालेका छन् । उनीहरुसँग घटनालाई मिलाउने नाममा १ देखि ७ लाखसम्म माग गरिएको बताइएको छ तर कसले मागेको हो भन्ने कुरा उनीहरु खुलाउन चाहान्नन् । ‘यसले मागेको भन्यो भने हाम्रो ज्यान जान्छ, पिडीतहरुले भने । त्रसित बनेका गाउँलेलाई किटानी जाहेरीमा आफ्नो नाम छ कि छैन त्यो पनि थाहा छैन तर उनीहरुको नाम जाहेरी लिष्टमा भएको भन्दै केही गाउँकै ठगहरु गाउँलेलाई नै दुःख दिनका लागि प्रशासनसँग मिलेको आरोप पिडीतहरुले लगाएका छन् । केही स्थानीयले नै सोझा तामाङ समुदायका गरिब परिवारलाई रणभुल्लमा पारेर जेल पठाउने खेल खेलेको समेत आरोप छ । केही राजनैतिक दलका कार्यकर्ताको व्यक्तिगत स्वार्थले पनि केस झन–झन जेलिँदै गएको स्थानीयहरुले बताएका छन् ।


के हो वास्तविक घटना ? (प्रहरीका अनुसार)
वि.सं. २०७४  कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका एक  महिलालाई प्रहरीले फागुन १५ गते मंगलबार  पक्राउ गरेको थियो । प्रहरीले हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीय कान्छीमाया ब्लोनलाई घटना भएको करिब ५ महिनापछि पक्राउ गरेको हो ।
कात्तिक २७ गते हेटौँडा १२ स्थित रमनटारमा गाई काटेको छ भन्ने सुचनाको प्राप्त भएपछि प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने कर्णबहादुर ब्लोनको मास बारीमा खैरो र सेतो रङ भएको गाई काटिएको अवस्थामा फेला पारेको प्रहरीको दाबी छ । सोही दिनदेखि फरार भनिएकी ब्लोनलाई प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन १५ गते पक्राउ गरी अनुसन्धान थालेको हो ।
प्रहरीले फरार भनेको भए पनि गाई धनी ब्लोन घरमै त्रासका बिच बसेकी थिईन् तर सोझी उनीलाई समेत मागेको जति पैसा दिन नसकेपछि पक्रिएको आरोप स्थानीयको छ । बिचौलियाले उनीसँग पनि करिब ३ लाखभन्दा बढी पैसा मागेको र दिन नसकेपछि अन्ततः उनी पक्राउ  परेकी स्थानीयहरु बताउँछन् । उनले गाई आफुले बेचेको तर काटेको होइन भन्दै आएकी थिईन् ।

‘कसैको भागाभाग, कोही आत्माहत्या गर्नेसम्मको सुरमा’
बिना कारण जेलमा जानु पर्ने डरले रमन्टारका सोझा तामाङ बस्तीका गाउँलेहरु गएको कात्तिक महिनादेखि मानसिक तनाव झेलिरहेका छन् । उनीहरुसँग बिचौलियाले पैसा मागेपछि दिन नसकेको र निर्दोष भएर पनि बोल्न र आफ्ना कुरा खुलस्त रुपमा प्रहरी सामु राख्न नसक्दा झन–झन समस्यामा परेका छन् ।
केही स्थानीयहरुले पैसा दिन नसकेपछि आत्माहत्या गर्ने मनसाय सम्म गरेको स्थानीयहरु बताउँछन् । उनीहरुले पैसा तिर्न भन्दै आफ्नो नाममा रहेको जग्गा समेत बेच्ने तरखर  गरेको स्थानीयहरुले बताए ।


‘ठग्न खोज्नेलाई कारवाही गर्छु’–एसपी खनाल
यस विषयमा मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले बिचौलिया बनेर ठग्न खोज्नेलाई कडा कारवाही गर्ने बताएका छन् । ‘त्यस घटनालाई आधार बनाई प्रशासन वा प्रहरीले नै त्यस्तो गलत काम कुनै पनि दृष्टिकोणबाट गर्न सक्दैन, तर कसैले त्यस्तो गरिरहेको छ भने उनीहरुलाई हामी कडा कारवाही गर्छौँ’, उनले भने, ‘सोझा गाउँलेलाई ठग्न खोज्नेलाई प्रहरीले छोड्दैन ।’
एसपी खनालले कसैले पैसा मागेमा नदिन पनि आग्रह गरेका छन् । साथै कोहीले केस मिलाइदिन्छु भन्दै पैसा मागेमा गोप्य रुपमै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेका छन् । घटनाको फाईदा उठाउन खोज्नेलाई प्रहरीले हदैसम्मको कारवाही गर्ने उनले बताए ।
घटनाका बारेमा जानकारी दिँदै घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ३ जना पक्राउ परेको र अनुसन्धानको क्रम जारी रहेको उनले बताएका छन् । घटना भएको समयको प्रतिवेदनमा ३ जनाको नाम मात्र उल्लेख भएको भए पनि अनुसन्धानका क्रममा केही थप व्यक्तिहरु समेत घटनामा सामेल भएको देखिएको उनले बताए । अहिलेसम्म प्रतिवेदनमा उल्लेख भएको बाहेक थप दुई जनालाई पक्राउ गरिएको एसपी खनालले बताए ।


‘निर्दोष जनतालाई धरपकड गर्न पाइँदैन, हामी चुप बस्दैनौँ’–जनप्रनिधि
गाई काटेको अभियोगमा तामाङ बस्तीले नै मानसिक तनाब भोगेको देखेपछि मकवानपुरका जनप्रतिनिधि तथा बुद्धिजीवीहरुले समेत यसको विरोध गरेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै ३ नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तानले असन्तोष प्रकट गरेकी छिन् । गाई काटेको भनिएता पनि सोही समयमा नपक्रिकन करिब ५ महिना पछि आरोपीलाई समाउनुले पनि ठूलो चलखेल भएको शंका उब्जाएको उनले बताईन् । ‘राज्यले गाईको मासु खाने समुदायलाई धर्मका नाममा एकोहोरो पेल्न मिल्दैन, र यस्तो विभेदकारी कानुन बनाउन पनि हुँदैन ।’ उनले भनिन् ‘बिना प्रमाण निर्दोष जनतालाई दुःख दिन पाइँदैन ।’
सांसद मोक्तानले स्थानीयकै व्य िक्तगत रिसिबीले पनि निर्दोषलाई फसाउने खेल भइरहेको भन्ने अपुष्ट हल्लाहरु आफुसम्म आईपुगेको बताईन् । यसका विषयमा आफुहरु गम्भिर भएको भन्दै डराएर बस्न बाध्य भएका तामाङ समुदायको लागि न्यायोचित निर्णय हुने अवस्था बनाउन आफुहरु लागिपर्ने उनले बताईन् ।
यस विषयमा प्रतिक्रिया दिँदै नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले घटनाले आफु दुखित भएको बताए । ‘गाई काटेर खान पाउनै पर्छ भन्ने होईन तर खाने समुदायलाई राज्यले एकोहोरो पेल्न पाईँदैन ।’ उनले भने, ‘गाईलाई नेपालले राष्ट्रिय जनावर बनाएको छ , तर राष्ट्रिय जनावर खानै नपाउने भनेर कानुनमा लेखेका छैन र खानै मिल्दैन भनेर मानव अधिकार हनन् हुने गरि कानुनमा व्यव्स्था गर्न पनि मिल्दैन ।’ गाउँलेलाई नै आतंकित पार्ने कार्य भएको भन्दै घलानले यसप्रति नेपाल तामाङ घेदुङको गम्भिर ध्यानाकर्षण भएको जनाए । साथै घटनाका बारेमा सबैसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानले समेत बिचौलियाहरुले लाखौँको रकम मागेको गुनासो स्थानीयबाट आएको पुष्टि गरेका छन् । ‘स्थानीयहरुलाई केस मिलाउँछु भन्दै गरिब किसानसँग लाखौँ माग्नेहरु सलबलाएका छन् ।’ उनले भने, ‘यसको तुरुन्त छानबिन हुनुपर्छ ।’  व्यक्तिगत रिसिबीका कारण पनि केही स्थानीयहरु फसेको उनले बताए ।
यस विषयमा प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमानसिं पाख्रिनले अधिकांश तामाङहरुले गाईको मासु खान्छन् भन्ने कुरा सबैलाई थाहा हुँदा पनि विभेदकारी व्यवस्थामा स्थानीय फसेको बताए । उनले झुट्टा मुद्धा लाउनु सहि नभएको भन्दै धर्म निरपेक्ष नेपालमा विगतका परम्पराको आधारलाई टेकेर धरपकड, बिना तथ्य त्रास देखाएर राज्यले जनतालाई दुःख दिनु उचित नभएको बताएका छन् । ‘मासु खाँदैमा कारवाही हुन्छ भने राज्यले पूनः यो गणतन्त्र, धर्म रिपेक्षता बारे प्रष्ट पार्नुपर्ने हुन्छ ।’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस