प्रचण्ड मुम्बईबाट फर्केलगत्तै किन पुगे बामदेव गौतम खुमलटार ?

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, ०८ : ५३
प्रचण्ड मुम्बईबाट फर्केलगत्तै किन पुगे बामदेव गौतम खुमलटार ?

काठमाडौं ।  शनिबार नेकपा पुनः एकीकरणको लागि आफूले आफैँलाई नेकपा एकता राष्टि«य अभियानको संयोजक घोषणा गरेर वक्तब्य दिएका नेकपा उपाध्यक्ष बामदेव गौतम नेकपा अध्यक्ष प्रचण्ड मुम्वईबाट फर्केलगत्तै खुमलटार पुगेका छन् ।

अध्यक्ष प्रचण्डसँगको भेटका लागि गौतम खुमलटार पुगेका थिए । सोमबार अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि दिल्ली हुँदै मुम्वईका लागि नेपाल एयरलाइन्सको विमानबाट उडिरहँदा गौतम अर्को खेमाका अध्यक्ष केपी ओलीसँग भेटका लागि बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै नेकपामा आएको विभाजनपछि कुनै पनि खेमामा संग्लन्न नभइरहेका गौतमले आफू कुनै समूहमा नलाग्ने घोषणा गर्दै आइरहेका छन् । तर कतिपयले उनलाई अध्यक्ष ओली पक्षसँग उनको पदको बार्गेनिङ चलिरहेकोले पनि उनी उता कुरा मिल्न नसक्दा अलमलमा रहेको टिप्पणी पनि गरिरहेका छन् ।

गौतमले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असम्वैधानिक निर्णय गरेको वक्तब्यमार्फत र राष्टि«य सभाको सम्वोधनका क्रममा पनि ब्यक्त गरेका छन् । तर असम्वैधानिक कदम चाल्ने प्रधानमन्त्रीसँगै उनले हिमचिम बढाउन पनि खोजिरहेका छन् ।

उता प्रचण्ड नेपाल पक्षमा पनि उनले उत्तिकै सम्बन्ध विस्तार गरिरहेका छन् । पार्टीको औपचारिक विभाजन कानुनी रुपमा नभएको र सर्वोच्चले संसद पुनस्र्थापनाको विषयमा निर्णय नदिदासम्म आफु कुनै पनि खेमामा सहभागी नहुने बताउँदै आइरहेका गौतमले प्रचण्डलाई मुम्वईबाट फर्केलगत्तै भेट गरेका हुन् ।

गौतम निकट स्रोतका अनुसार, गौतमले अध्यक्ष प्रचण्डलाई शनिबर नै आफूले घोषणा गरेको नेकपा एकता राष्टि«य अभियानका विषयमा जानकारी गराउन भेट गरेका हुन् । उनले आफू एक दुई दिनभित्रै यो अभियानको केन्द्रीय टिम घोषणा गरेर सक्रियातापूर्वक एकताको पक्षमा लाग्न लागेको जानकारी गराएको पनि गौतमको निजी सचिवालयले जनाएको छ ।

गौतमले आगामी बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर नेकपा राष्टिय एकता अभियानका ५ सय ५१ सदस्य केन्द्रीय समिति र एकताको आधारपत्र सार्वजनिक गर्ने  तयारी गरेका छन् । त्यसको जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । अध्यक्ष प्रचण्डले गौतमको अभियानलाई शुभकामना दिए पनि तर ओलीको कदम सच्चिएर प्रतिनिधिसभा पूर्नस्थापना नभएसम्म त्यो सम्भावना धेरै टाढाको विषय भएको बताएका थिए । तैपनि प्रयास अगाडि बढाउन प्रचण्डले सफलताको शुभकामना  दिएको गौतमको सचिवालयको भनाइ छ ।

प्रचण्ड गत सोमबार पत्नी सीताको उपचार गराउन मुम्वई जाँदै गर्दा त्यही दिन गौतमले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरेका थिए । ओलीसँग गौतमको पदको बार्गेनिङ चलिरहेको बालुवाटार स्रोतले बताएको छ । गौतम पत्नी तुलसी थापालाई बालुवाटारले अहिले थप गरेको पार्टी केन्द्रीय समितिको सदस्य बनाएको छ । केन्द्रीय सदस्य बनाए पनि तुलसी थापा पनि बालुवाटारको बैठक र भेलाहरुमा सहभागी भने भइसकेकी छैनन् ।

गौतम अहिले नेकपाभित्र सेना विनाको सेनापति भएको र उनका निकट नेताहरु तत्कालिन एमालेको नवौं महाधिवेशनपछि नै धेरैजसो ओलीतिर खुलेर अहिले ओलीकै भइसकेको र बाँकी रहेका बलराम बास्कोटा, केशवलाल श्रेष्ठलगायतका नेताहरु पनि प्रचण्ड माधव नेपाल समूहतिर खुलेर ओलीको कदमको विरोधमा संर्घषमा रहेको अवस्थामा गौतमसँग अहिले नेताहरु पछि लाग्ने देखिएका छैनन् ।

एक जना मात्र हरि पराजुली गौतमको पछि लागेर कतैका भेला र बैठकमा नगएपनि उनी पनि ओलीको कदमको विरोधमा देखिएका छन् । प्रचण्ड नेपाल समूहतिर नै नजिक देखिएका छन् । तर गौतमले पराजुली सहितलाई आफनो साथबाट उम्किन दिएका छैनन् । गौतमले पार्टीका दोश्रो तहका नेतादेखि आम कार्यकर्तामा देखिएको एकताको पक्षको माहोलमा आफनो साथ मिलेमा पुनः नयाँ टिम आफनो पछि राख्न सकिने र त्यसैका आधारमा दुवै खेमामा बार्गेनिङ गर्न सकिने गरी अगाडि जान खोजेको हुन सक्ने आशंका पनि गरिएको छ ।

गौतमले एकता राष्टि«य अभियानका नाममा अहिले देशभर आफनो गुट निर्माणको प्रयास गरेका छन् । त्यही आधारमा उनी संगठित हुने शक्तिलाई लिएर ओली पक्षसँग बार्गेनिङको तयारीमा रहेको बालुवाटार स्रोतले बताइरहेको छ । गौतम प्रचण्ड नेपाल पक्षमा लाग्दा अझै पनि चौथो नम्वरको नेता वन्ने तर ओली पक्षमा लाग्दा ओली पछिको दोस्रो नेता बन्ने देखेर उनी ओली पक्षमा जानका लागि नै तयारीमा लागेको हुन सक्ने बुझाइ पनि धेरैले गरिरहेका छन् ।

गौतमलाई ओली निकटका कतिपय स्थायी समिति सदस्यहरुले पार्टीको कार्यकारी अध्यक्ष वन्ने गरी आफूहरुको खेमामा आउन आग्रह समेत गरिरहेका छन् । उनलाई अहिले पनि विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल लगायतका नेताहरुले भेटेर फकाउने काम गरिरहेका छन् ।

नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था छ । तर ओली पक्षले ओली बाहेक अर्को अध्यक्षमा अहिले प्रचण्डलाई नै अधिकार खोसेर यथावत राखिरहेको छ । पार्टी विभाजनका क्रममा प्रचण्डको ठाउमा कार्यकारी अध्यक्ष बनाउने गरी ओली खेमामा गौतमको चर्चा चलेपनि प्रधानमन्त्री ओली दोश्रो वरियता र आफू पछिको नेतामा गौतमलाई मानेर जान तयार रहे पनि पार्टीमा दुई अध्यक्ष राखेर जाने पक्षमा भने देखिएका छैनन् ।

‘उहाँकी श्रीमती पनि हाम्रै पक्षको केन्द्रीय सदस्य हुन्छ, उहाँलाई कार्यकारी अध्यक्ष बनाऔं भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ओलीनिकटका एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसैले धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा बामदेवजी हुनुहुन्छ, उहाँ धेरै नेता कार्यकर्ता एकताका नाममा आफूसँग गोलवद्ध गरेर बार्गेनिङको चरणमै हुनुहुन्छ ।’

तर गौतमले भने प्रचण्ड र ओली दुवैसँगको भेटमा एकताका लागि अहिले पनि प्रयास जारी राख्नुपर्ने बताइरहेका छन् । उनी दुवै खेमामा नखुलेपछि र एकताका लागि अभियानमा रहने बताएपछि उनलाई चिनियाँ राजदुत योङ यान्छीले पनि उनको छोराको नक्सालस्थित कार्यलयमा पुगेर भेट गरेकी थिइन् । गौतमले उक्त भेटमा आफुलाई साथ दिएर कतै नखुलेका केन्द्रीय सदस्य हरि पराजुलीलाई पनि साथै राखेका थिए ।

अहिले एकताका लागि गौतमले केही आधारपत्र पनि तयार पारेर सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले दुबै अध्यक्षलाई भेटेर जानकारी गराएका पनि छन् । शनिबारप्रचण्डसँगको भेटमा प्रच्ण्डले प्रतिनिधिसभा पुर्नस्थापना भएर ओलीले आत्मआलोचना भएर सच्चिएर आउने प्रयास गरे अझै पनि एकता धेरै टाढाको विषय नभएको बताएका थिए । त्यसैका लागि प्रयास गर्न प्रचण्डले वामदेवसँग आग्रह गरेका थिए ।

गौतमले भने अहिलेको पार्टी विभाजन पार्टीको विचार, नीतिका आधारमा नभएको र त्यो प्राविधकि विषयले मात्र भएकोले त्यसलाई मिलाएर जानुपर्नेमा जोड गरिरहेका छन् । उनले शनिवार जारी गरेको वक्तब्यमा पनि त्यही आसयको वक्तब्य दिएका थिए । अहिले गौतमले एक ब्यक्ति एक मुख्य जिम्मेवारी, मुख्य जिम्मेवारीको परिभाषित जिम्मेवारी, दुई अध्यक्षको अन्तिम निर्णयको ब्यवस्थाको सट्टा कमिटिको निर्णय नै सर्वेसर्वा बनाएर जाँदा समस्याको समाधान हुने गरी जाँदा राम्रो हुने गरी प्रस्ताव अगाडि सार्न खोजेको छ । यसको बारेमा पनि प्रचण्डलाई गौतमले शनिबार जानकारी गराएको र ओलीलाई पनि जानकारी गराइसकेको गौतम निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस